मुद्दाका कारण सुदूरपश्चिम महोत्सव नरोक्न आग्रह
धनगढी । मुद्दाका कारण सुदूरपश्चिम महोत्सव नरोक्न व्यवसायीहरुले कैलाली उद्योग वाणिज्य संघलाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचनको विषयलाई लिएर चलिरहेको गैरव्यवसायी सदस्यता मुद्दाका कारण परम्परा बनिसकेको महोत्सव नरोक्न मुद्दा दर्ता गराउने व्यवसायीले आग्रह गरेका हुन् । व्यवसायी जयराज न्यौपाने र डिल्लीराज अवस्थीले बिहिबार पत्रकार सम्मेलन आयोजना गरी तत्काल मुद्दाको छानविन भएर निर्वाचन हुने सम्भावना नरहेकाले महोत्सव रोक्न नहुने बताए ।
मदिरा व्यवसायी संघका अध्यक्ष समेत रहेका अवस्थीले मुद्दाको विषयलाई लिएर महोत्सव रोक्न उचित नरहेको बताए । उनले सुदूरपश्चिमको व्यापार व्यवसाय प्रबद्र्धन गर्नुका साथै यस क्षेत्रको उद्योग, पर्यटन र आर्थिक विकासमा महोत्सवले सहयोग गर्दै आएको बताए ।
उनीहरुले अदालतले छानविन गर्न दिएको निर्देशनलाई उलंघन गर्दै जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरी उद्योग वाणिज्य संघको कार्यसमितिलाई बैधता दिएको विरुद्धमा उजुरी परेको र त्यसको पेशी आउादो पुष ४ गते रहेकाले पनि निर्वाचन तत्काल सम्भव नरहेको बताएका छन् । व्यवसायी अवस्थीले जिल्ला प्रशासन कार्यालयको छानविन समिति र रोक्का गरिएको कैलाली उद्योग वाणिज्यसंघको समिति पनि विघटन हुन सक्ने सम्भावना रहेका बताए ।
व्यवसायी जयराज न्यौपानेले निर्वाचन गराउने जिम्मेवारी पाएको समितिले महोत्सव पनि गराउन सक्ने बताए । उनले समितिलाई रोक्का गर्ने निर्णयको विरोध आफूहरुले गरेपनि त्यस समितिले महोत्सव आयोजना गरेमा सहयोग गर्ने बताए ।
उनले उद्योग वाणिज्य संघले महोत्सव आयोजना नगरेमा संघकै नाममा वस्तुगत समितिहरुसंग मिलेर आफू महोत्सव गर्ने जनाएका छन् । उनले वस्तुगत समितिहरु पनि महोत्सव गर्नका लागि सहयोग गर्न तयार रहेको बताए ।