२६ पुष २०८१, शुक्रबार

प्रदेश सरकारको बजेट विनियोजनप्रति स्थानीय तहको गुनासो



धनगढी । ७ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटप्रति स्थानीय तहहरूका लागि न्यून बजेट विनियोजन भएको गुनासो गरेका छन् ।
प्रदेश सातका अधिकांस स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटमा अपेक्षा गरेअनुसार विनियोजन गर्न नसकेको गुनासो गरेका छन् । संघीय सरकारबाट आर्थिक वर्ष २०७५/७६ का लागि बजेट कटौती गरेर आएपछि प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा लिएका स्थानीय जनप्रतिनिधिहरू प्रदेशको बजेटबाट सन्तुष्ट नरहेको जनाइएको छ ।

फाइल तस्बिर

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने– “संघीय सरकारले बजेट कटौती गरेर पठाउँदा प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा लिएका थियौं, तर त्यो भएन ।” नगर प्रमुख वडले स्थानीय तहप्रति प्रदेश सरकार गम्भीर नभएको गुनासो गरे ।
संघीय सरकारबाट आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका स्थानीय तहहरूमा दुई करोडदेखि नौ करोड रुपैयाँसम्म कटौती गरेर आएपछि प्रदेश सरकारबाट क्षतिपूर्ति हुने स्थानीय तहका जनप्रतिनिधिहरूले अपेक्षा गरेका थिए । तर, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहराले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा स्थानीय तहलाई वित्तीय समानिकरणतर्फ ६६ लाखदेखि एक करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेका छन् ।
७ नम्बर प्रदेश सरकारले सरकारले स्थानीय तहका लागि वित्तिय समानिकरणतर्फ ६२ करोड रुपैयाँ विनियोजन गरेको छ । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको प्रदेशमा सबैभन्दा बढी बजेट कैलाली जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ ।
एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका रहेको कैलाली जिल्लाका लागि प्रदेश सरकारले १० करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, कञ्चनपुरमा छ करोड ८४ लाख ८८ हजार, डोटीमा छ करोड १२ लाख ५२ हजार, अछाममा छ करोड ८७ लाख ५२ हजार, डडेलधुरामा चार करोड पाँच लाख सात हजार, बझाङमा आठ करोड १५ लाख ८१ हजार, दार्चुलामा छ करोड आठ लाख ७३ हजार, बाजुरामा छ करोड सात लाख २१ हजार तथा बैतडी छ करोड ८५ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाका लागि प्रदेश सरकारले एक करोड चार लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, गोदावरी नगरपालिकाका लागि ८४ लाख १३ हजार, गौरीगंगा नगरपालिकाका लागि ७८ लाख ३८ हजार, घोडाघोडी नगरपालिकाका लागि ८४ लाख २९ हजार, टीकापुर नगरपालिकामा ८५ लाख ११ हजार, भजनी नगरपालिकामा ७५ लाख ८९ हजार तथा लम्कीचुहा नगरपालिकाका लागि ८३ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, कैलारी गाउँपालिकाका लागि ७५ लाख ८० हजार, चुरे गाउँपालिकामा ६६ लाख ६० हजार, जानकी गाउँपालिकामा ७५ लाख ८५ हजार, जोशीपुर गाउँपालिकामा ७२ लाख ८४ हजार, बर्दगोरिया गाउँपालिकामा ७० लाख ३२ हजार र मोहन्याल गाउँपालिकामा ६७ लाख १५ हजार रुपैया विनियोजन गरेको छ ।

कुन स्थानीय तहमा कति बजेट (हजारमा) हेर्न यहाँ क्लीक गर्नेहाेस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार