२३ बैशाख २०८१, आईतवार

लगानी वृद्धिका लागि नीतिगत प्रतिबद्धता आवश्यक



धनगढी ।  उद्योगी, व्यावसायीहरूले सुदूरपश्चिममा लगानी गर्नका उचित वातावरण र सरकारको नीतिगत प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले शुक्रवार धनगढीमा आयोजित ‘सुदूरपश्चिम लगानी सेमिनार २०७३’ मा सहभागी उद्यागी, व्यावसायीहरूले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि लगानी भित्राउन सबै गम्भीर हुनुपर्ने चर्चा गरे ।
कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सेमिनारमा ऊर्जा क्षेत्रका लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले सुदूरपश्चिममा लगानी भित्रयाउन स्थानीयहरू नै गम्भीर नभएको बताए । उनले भने–‘अरूको मुख ताकेर हँुदैन, आफै उठ्नु पर्‍यो ।’ उनले सुदूरपश्चिममा जलस्रोतको खानी भए पनि पूर्वाधार नभएको बताए ।
यस्तै, लक्ष्मी ग्रुपका अनुप श्रेष्ठले आफुहरु लगानी गर्न तयार रहे पनि नीतिगत प्रतिबद्धताको आवश्यकता रहेको बताए । उनले आफ्नो ग्रुपले सुदूरपश्चिममा डेरी क्षेत्रमा लगानी गर्ने योजना बनाएको बताए ।
उद्योगी हेमराज ढकालले बजारको साईज र यहाँको औद्योगिक उत्पादन बाहिर किासी गर्न सकिन्छ कि सकिँदैन भनेर आँकलन गरेर मात्र उद्योग सञ्चालन हुने बताए । उनले भने–‘सुदूरपश्चिममा ठुला उद्योगको सम्भावना कम छ, त्यसैले साना तथा मझौला उद्योगमा ध्यान केन्द्रित हुनुपर्छ ।
सेमिनारमा वरिष्ठ पत्रकार मदन लम्सालले सुदरपश्चिममा लगानीका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले सुदूरपश्चिममा रहेको पर्यटन, कृषि, जलबिद्युत, जडिबुटी–बन र पूर्वाधार गरी पाँच क्षेत्रको अवस्था र यसमा लगानीको सम्भावना रहेको चर्चा गरे ।
सो अवसरमा शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्त, नाष्टका प्राचार्य शिवहरी मुडभरी लगायतले सुदूरपश्चिमका सम्भावना बारे धारणा व्यक्त गरेका थिए ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष चण्डीराज ढकाल, महासङ्घकी वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष किशोर प्रधान, उद्योगी शेखर गोल्छा लगायतका लगानीकर्ता तथा उद्योगी, व्यावसायीका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, तथा उद्योगीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार