१० आश्विन २०८३, शनिबार

प्रधानमन्त्री शाह स्वदेश फर्किए, जलवायु संकट र विश्व शान्तिको विषय उठाएको बताए



काठमाडौ/ प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाह गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए। महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको छ।

महासभाको जनरल डिबेटमा सेप्टेम्बर २४ मा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण ठूलो क्षति बेहोर्नुपरेको बताएका थिए। उनले हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेका थिए।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको उनले बताएका थिए। जलवायु परिवर्तन नेपालका लागि मानवीय घटना मात्र नभई विकासको संकटसमेत भएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढेको भन्दै हिमतालको निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए। विपद्का बेला सीमापार समन्वयका लागि हिमाली जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न पनि उनले प्रस्ताव गरेका थिए।

जलवायु परिवर्तनलाई भू–राजनीतिक द्वन्द्वको विषय बनाउन नहुने भन्दै प्रधानमन्त्री शाहले साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा समाधान खोज्नुपर्ने बताएका थिए। जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेलेका तथा बढी स्रोतसाधन र क्षमता भएका मुलुकले थप जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिएका थिए।

जलवायुजन्य विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताएका थिए। साथै, जलवायु वित्तका विद्यमान संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउनुपर्ने धारणा राखेका थिए।

नेपालले वन संरक्षण, जलविद्युत् विकास, विद्युतीय सवारी साधनको प्रवर्द्धन र स्थानीय तहमा जलवायु अनुकूलनका काममार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको पनि प्रधानमन्त्री शाहले बताएका थिए।

महासभालाई सम्बोधन गर्दै उनले जलवायुजन्य विपद्लाई तत्कालीन प्रतिक्रियाबाट मात्र सम्बोधन गर्ने अवस्थाको अन्त्य गरी पूर्वतयारीको संस्कृति विकास गर्नुपर्ने बताए। जलवायु न्यायलाई वित्तीय सहयोगमा मात्र सीमित नराखी वितरणात्मक र प्रक्रियागत न्यायसमेत सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले बहुपक्षीयतामा नेपालको विश्वास रहेको भन्दै साना र गरिब मुलुकको आवाज सुन्ने तथा न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था निर्माणका लागि संयुक्त राष्ट्रसङ्घमाथि नेपालको भरोसा रहेको बताए। सम्बोधनको अन्त्यमा उनले ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वान गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायुका विषयमा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउँदै नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा पनि छलफल गरेका थिए। अतिकम विकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न समर्थन जुटाउने विषयमा समेत कुराकानी भएको थियो।

त्यसैगरी प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजसँग भेटवार्ता गर्दै द्विपक्षीय हितका विभिन्न विषयमा छलफल गरेका थिए।

महासभामा परराष्ट्रमन्त्रीसमेत विभिन्न मन्त्रीस्तरीय बैठक, उच्चस्तरीय छलफल र कार्यक्रममा सहभागी हुँदै विभिन्न मुलुकका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटवार्ता गरिरहेका छन्।

सरकारले प्रधानमन्त्री शाहको महासभा सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि भएको दावी पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार