हाङझाउमा हिमालय एअरलाइन्सको सिधा उडान, सातामा दुई उडान
काठमाडौ/ हिमालय एअरलाइन्सले चीनको हाङझाउमा काठमाडौंलाई जोड्ने सिधा उडान सञ्चालन गर्ने भएको छ । एअरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्ने क्रममा चीनको हाङझाउमा नियमित उडान थप्न लागेको हो ।
एअरलाइन्सका अनुसार आगामी सेप्टेम्बर ३० देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सञ्चालन हुनेछ । यो रुटमा साताको दुईवटा उडान हुनेछन् ।
काठमाडौं–हाङझाउ उडान प्रत्येक आइतबार र बुधबार सञ्चालन हुनेछ । त्यसैगरी हाङझाउबाट काठमाडौं फर्किने उडान सोमबार र बिहीबार हुने एअरलाइन्सले जनाएको छ ।
चीनको महत्वपूर्ण पर्यटकीय तथा आर्थिक सहर हाङझाउसँग नेपालको सिधा हवाई सम्पर्क स्थापना भएपछि नेपाल–चीनबीचको यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ । यसबाट पर्यटन, व्यापार तथा दुई देशबीचको आवतजावतमा समेत सहयोग पुग्ने एअरलाइन्सको विश्वास छ ।
यात्रुले हाङझाउ गन्तव्यका लागि हिमालय एअरलाइन्सको वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।
नेपालको पर्यटन प्रवर्द्धन तथा स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित आफ्नो उडान सञ्जाल विस्तार गर्दै आएको एअरलाइन्सले हाङझाउ उडानलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।




