आफ्नै सरकारमाथि स्वपाका सांसद प्रसाईंको टिप्पणी– ‘महँगीले अग्रगामी छलाङ मार्यो’
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का सांसद रमेश प्रसाईंले आफ्नै सरकारको कार्यकालमा महँगीले ‘अग्रगामी छलाङ’ मारेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले देश विपत्को चपेटामा परिरहेका बेला बजार भने उद्दण्ड बनेको बताए । दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दा सर्वसाधारणको ढाड सेकिएको उनको भनाइ थियो ।
‘एकातिर देश विपत्ले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो । प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो,’ उनले भने, ‘चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामीजस्ताको ढाड सेकियो त।’
प्रसाईंले नयाँ उद्योगमन्त्रीलाई विगतका कमजोरी दोहोरिन नदिनसमेत सुझाव दिए । ‘नयाँ जोगीले धेरै खरानी धस्छ’ भनेजस्तो अवस्था नहोस् भन्दै उनले महँगी नियन्त्रण र कालोबजारी अन्त्यका लागि प्रभावकारी काम गर्न मन्त्रीलाई आग्रह गरे । बजार अनुगमनलाई प्रभावकारी बनाउँदै कृत्रिम अभाव र कालोबजारी गर्नेहरूमाथि कारबाही गर्नुपर्ने उनको जोड थियो ।
बैठकमा प्रसाईंले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनप्रति पनि सरकारको ध्यानाकर्षण गराए । राजधानीमै प्रभावकारी ट्राफिक व्यवस्थापन हुन नसकेको भन्दै उनले सार्वजनिक यातायातमा यात्रुलाई ‘भेडाबाख्रा हुलेझैँ’ कोचेर यात्रा गराउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए ।
सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तत्काल ध्यान दिनुपर्ने उनले बताए । दैनिक आवतजावत गर्ने नागरिकले सास्ती खेप्नुपरेको भन्दै उनले ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।




