५ असार २०८३, शुक्रबार

चीनसँग विश्वासको सम्बन्ध अझ मजबुत बनाउन नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल



बेइजिङ/ नयाँ सरकार गठनसँगै नेपालको परराष्ट्र नीतिलाई लिएर भइरहेका विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणबीच परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी चीनसँगको सम्बन्धलाई थप विश्वास, संवाद र सहकार्यका आधारमा अघि बढाउने स्पष्ट सन्देश दिएका छन्।

भारत भ्रमण सम्पन्न गरेलगत्तै चीन पुगेका खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत द्विपक्षीय वार्ता गरेका हुन्। वार्तामा दुई देशबीचका समग्र सम्बन्ध, विकास सहकार्य, सीमासम्बन्धी विषय, कनेक्टिभिटी, कृषि, प्रविधि, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा वर्तमान भूराजनीतिक अवस्थालगायतका विषयमा खुला छलफल भएको उनले बताए।

बेइजिङमा नेपालखबरसँगको भिडियो अन्तर्वार्तामा मन्त्री खनालले नयाँ सरकार बनेपछि चीनसँगको सम्बन्धबारे फैलाइएका आशंका आफ्नो भ्रमणले हटाएको दाबी गरे।

उनका अनुसार भ्रमणको पहिलो उद्देश्य नयाँ सरकार गठनपछि उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिनु थियो भने दोस्रो उद्देश्य चीनलाई नेपालको परराष्ट्र नीति र सरकारका प्राथमिकताबारे स्पष्ट जानकारी गराउनु थियो।

“हामीले चीनलाई नयाँ सरकारका प्राथमिकता, हाम्रो सोच र आगामी सहकार्यका क्षेत्रबारे स्पष्ट रूपमा जानकारी गरायौं। सबै भेटघाट निकै सकारात्मक भए र चिनियाँ पक्षबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भयो,” उनले भने।

वाङ यीसँग लामो छलफल

खनालका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट औपचारिक कार्यतालिकाभन्दा लामो समयसम्म चलेको थियो। छलफलमा नेपाल–चीन सम्बन्धका सबै आयाम समेटिएका थिए।

उनले भने, “दुई देशबीच सञ्चालन भइरहेका विकास परियोजना, सीमा क्षेत्रका विषय, कृषि, प्रविधि, पूर्वाधार, अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य र विश्व राजनीतिमा देखिएका नयाँ चुनौतीसम्मका विषयमा विस्तृत छलफल भयो।”

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा चिनियाँ पक्षले चासो व्यक्त गरेको थियो भने सीमासम्बन्धी केही विषयमा पनि खुला रूपमा कुराकानी भएको थियो।

“संवेदनशील विषयहरूलाई पनि लुकाएर होइन, एउटै टेबलमा बसेर विश्वासका साथ समाधान खोज्नुपर्छ भन्ने नेपालको धारणा हामीले स्पष्ट रूपमा राख्यौं,” उनले भने।

‘नेपाल कुनै शक्ति केन्द्रको पक्षमा छैन’

नेपालको नयाँ सरकार अमेरिका वा भारततर्फ झुकेको र चीनसँग दूरी बढाएको भन्ने विश्लेषणलाई खनालले अस्वीकार गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विगतदेखि नै औपचारिक सम्पर्क र सम्बन्ध रहँदै आएको उल्लेख गरे।

“हामी नयाँ पार्टी भए पनि चीनसँगको संवाद नयाँ होइन। पार्टी तहदेखि नेतृत्व तहसम्म विगतदेखि नै सम्बन्ध रहँदै आएको छ। त्यसैले अहिले बाहिर आएका धेरै विश्लेषण वास्तविकतामा आधारित छैनन्,” उनले भने।

उनका अनुसार नेपालले सबै छिमेकी तथा मित्र राष्ट्रसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राख्ने नीति अवलम्बन गरेको छ।

प्रधानमन्त्रीको विदेश भ्रमणबारे प्रष्टिकरण

प्रधानमन्त्री बालेन्द्र शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने चर्चा पनि सत्य नभएको खनालले बताए।

उनका अनुसार प्रधानमन्त्रीले विदेश भ्रमण नगर्ने कुनै समयसीमा सार्वजनिक गरेका छैनन्।

“प्रधानमन्त्रीको अहिलेको प्राथमिकता देशभित्रका कामलाई व्यवस्थित गर्नु हो। नयाँ सरकार बनेको धेरै समय भएको छैन। जनताले परिवर्तनको अपेक्षा गरेका छन्। त्यसैले उहाँले अहिले आन्तरिक कामलाई प्राथमिकता दिनुभएको हो,” उनले भने।

संयुक्त राष्ट्रसंघमा को जाने भन्ने निर्णय बाँकी

संयुक्त राष्ट्रसंघको आगामी महासभामा प्रधानमन्त्री सहभागी हुने वा परराष्ट्रमन्त्रीले नेपालको नेतृत्व गर्ने भन्ने विषयमा भने सरकारको अन्तिम निर्णय भइनसकेको उनले बताए।

उनका अनुसार प्रत्येक वर्ष प्रधानमन्त्री नै जानुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छैन।

“कार्यक्रमको प्रकृति, नेपालको आवश्यकता र त्यसबाट प्राप्त हुने कूटनीतिक अवसरका आधारमा सरकारले निर्णय गर्छ। प्रधानमन्त्री जानुहुन्छ वा म नेतृत्व गर्छु भन्ने विषय अहिले टुंगो लागिसकेको छैन,” उनले भने।

विश्वासको सम्बन्धमा जोड

खनालले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक सम्बन्ध मात्र नभई ऐतिहासिक, सांस्कृतिक र भौगोलिक निकटतामा आधारित रहेको उल्लेख गरे।

उनले दुई देशबीच देखिने कुनै पनि जटिल विषयलाई संवादमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै नेपाल सरकार पारस्परिक सम्मान, विश्वास र सहकार्यका आधारमा चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको बताए।

(बेइजिङमा नेपाल खवरका लागि अदिति बरालले मन्त्री खनालसंग कुराकानीको गरेको भावानुवादमा आधारित)


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार