२५ बैशाख २०८३, शुक्रबार

नवजीवन सहकारीमा चुनावी ‘सरगर्मी’ : पाठक समूहको ९ बुँदे ‘डिजिटल र उत्पादनमुखी’ संकल्प



धनगढी / सुदूरपश्चिमकै अग्रणी वित्तीय संस्था नवजीवन सहकारी संस्थाको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी चुलिएको छ। आगामी जेठ ९ गते हुने निर्वाचनका लागि प्यानलसहित चुनावी मैदानमा उत्रिने क्रम सुरु भएको छ, जसमा तीन वटा समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

यसै क्रममा शुक्रबार गोपालराज पाठकको नेतृत्वमा रहेको समूहले आफ्नो प्यानल र चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अभियानको शङ्खघोष गरेको छ।


पाठक समूहको प्यानल: को–को छन् मैदानमा?

गोपालराज पाठकको टिमले अनुभवी र समावेशी अनुहारहरूलाई समेट्दै प्यानल घोषणा गरेको छ:

  • अध्यक्ष: गोपालराज पाठक
  • उपाध्यक्ष: उत्तम जोशी
  • सदस्यहरू: कोपिला कुँवर, गणेश बम, जगतराम चौधरी, जयराज जोशी, ठोमनाथ ढकाल (टिएन), भरतराज जोशी र लक्ष्मीराज पन्त।
  • लेखा सुपरिवेक्षण समिति: गणेशप्रसाद जोशी (संयोजक), खेमराज पाठक र गणेशप्रसाद उपाध्याय (सदस्य)।

९ बुँदे प्रतिबद्धता: सुशासनदेखि प्रविधिसम्म

अध्यक्षका उम्मेदवार पाठकले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संस्थालाई आधुनिक र उत्पादनमुखी बनाउने ९ बुँदे मार्गचित्र प्रस्तुत गरिएको छ। यो समूहले मुख्यत: सुशासन, उत्पादन र डिजिटल अभियानलाई आफ्नो चुनावी एजेन्डाको मेरुदण्ड बनाएको छ।

प्रतिबद्धताका मुख्य बुँदाहरू: १. शून्य सहनशीलता: संस्थागत सुशासन कायम गर्न आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्ने नीति। २. उत्पादनमा लगानी: परम्परागत ऋण लगानीभन्दा माथि उठेर उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्ने। ३. निष्क्रिय कर्जा असुली: संस्थाको टाउको दुखाइ बनेको निष्क्रिय कर्जा असुलीलाई प्रभावकारी ढङ्गले अघि बढाउने। ४. डिजिटल नवजीवन: अनलाइन कारोबारलाई प्रोत्साहन गर्दै सदस्यहरूका लागि प्रविधिमैत्री सेवा सञ्चालन गर्ने। ५. खाद्य उद्योग विस्तार: ‘नवजीवन खाद्य उद्योग’लाई थप व्यवस्थित र बिस्तार गर्ने योजना। ६. लघुवित्त कार्यक्रम: ग्रामीण र विपन्न वर्गलाई समेट्न लघुवित्त कार्यक्रमलाई गाउँ-गाउँ पुर्‍याउने।


लक्ष्य: देशकै उत्कृष्ट सहकारी

प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार पाठकले नवजीवन सहकारीलाई कारोबार र सुशासनका आधारमा नेपालकै नमुना र उत्कृष्ट संस्था बनाउने दाबी गरे। “हाम्रो समूहले जितेमा सदस्यहरूको बचतको सुरक्षा मात्र होइन, उनीहरूको जीवनस्तर सुधार्ने गरी उत्पादन र प्रविधिमा क्रान्ति ल्याउनेछौँ,” उनले भने।

अहिले धनगढीका चिया पसलदेखि व्यावसायिक चोकहरूसम्म नवजीवनको चुनावी चर्चाले माहोल तातिएको छ। पाठक समूहको यो ‘पावरफुल’ घोषणाले अन्य प्रतिस्पर्धी समूहहरूलाई पनि दबाबमा पारेको छ।

हेर्नुहोस् पाठकको समूहको प्रतिबद्धतापत्र

“सुशासन–उत्पादन–डिजिटल अभियान, नवजीवनले अब पाउँनेछ नयाँ पहिचान”

आदरणीय शेयर सदस्य महानुभावहरू, नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, कैलालीले आफ्नो ३२ औं वार्षिक साधारण सभाको आयोजना गर्दै नयाँ नेतृत्वको अपेक्षा गरेको छ । हामी गोपाल राज पाठक को समूहले संस्थाको वर्तमान अवस्था र सम्भाव्यतालाई गहन अध्ययन गरी निम्न बुँदागत प्रतिबद्धताहरू प्रस्तुत गर्दछौं। हाम्रो प्रतिबद्धता

१. संस्थागत सुशासन: संस्थाको ख्याती र गौरव कायम राख्न हरेक प्रकारका विकृति हटाउन शून्य सहनशीलता अपनाइनेछ । संस्थामा गरिने नयाँ कार्यक्रमलाई प्रभावकारी बनाउन शेयर सदस्यहरूमध्येबाट सम्बन्धित विषयको जानकारहरू, सञ्चालक र कर्मचारी सम्मिलित योजना तर्जुमा उपसमिति गठन गरि लागु गरिनेछ ।

२. लगानी तथा असुली: संस्थामा रहेको तरलतालाई न्यूनीकरण गर्दै सहकारी मापदण्ड भित्र सीमित गरिने प्रयास गरिनेछ, जसका लागि लगानीका नयाँ क्षेत्रको पहिचान र ब्याजदरमा समयसापेक्ष परिवर्तन गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गरिनेछ। साथै निष्क्रिय कर्जाको असुलीका लागि विशेष कार्यदलको गठन गरी असुली कार्यलाई प्रभावकारी बनाइनेछ।

३. सदस्य हित: संस्थामा भएका कार्यहरूको जानकारी गराउन र शेयर सदस्यहरूको गुनासो तथा सुझाव ग्रहण गरी संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सूचना अधिकारी सहितको प्रणाली स्थापना गरिनेछ। सदस्यहरूले पाइरहनु भएको सुविधाहरूको क्षेत्रविस्तार गर्दै लगिनेछ।

४. उत्पादन: संस्थाले सकार गरेका जमिन लाई संस्थाको सम्पत्तिको रुपमा ग्रहण गरी सम्भाव्यताका आधारमा उत्पादन क्षेत्रमा प्रयोग गरिनेछ र किसान शेयर सदस्य रहेको क्षेत्रहरूमा लघुवित्त कार्यक्रमलाई विस्तार गरिनेछ। साथै मजगाउँमा रहेको नवजीवन खाद्य उद्योगलाई विस्तार गरिनेछ।

५. जनशक्ति विकास: संस्थामा रहेका कर्मचारीहरूलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ।

६. भौतिक विकास: संस्थाको जोशीपुर सेवा केन्द्रमा आवश्यक पर्ने भवन निर्माण र चौमाला सेवा केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गरिनेछ।

७. प्रविधि र स्रोत साधन: संस्थाको कार्यलाई प्रभावकारी बनाउन समय सापेक्ष आधुनिक सफ्टवेयर को प्रयोग गर्दै अनलाइन कारोबारलाई प्रोत्साहन गर्दै मसलन्दको खर्चमा कटौती गरिनेछ।

९. कार्यकालको परिणाम (हाम्रो लक्ष्य): संस्थाको सेवा प्रविधिमैत्री बनाउँदै कारोबार र सुशासनको हिसाबले देशभरिमा पहिलो स्थानमा पुर्याइने छ। अन्तमा हाम्रो अन्तिम अपिल हामी गोपाल राज पाठक को समूहले अबको सहकारी सुशासन, उत्पादन र शेयर सदस्य सशक्तिकरणको मोडल बन्ने पूर्ण विश्वासका साथ यहाँहरूको समर्थन, आशीर्वाद र अमूल्य मत को अभिलाषा राख्दछौं।

हामी छौं तपाईंको — तपाईं हुनुहुन्छ हाम्रो सहकारीको विकासको जग, जय सहकारी !


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार