सम्पत्ति शुद्धीकरण अनुसन्धान : व्यवसायी भट्ट र अग्रवालको हिरासत अवधि थप १२ दिनले लम्बियो
काठमाडौं/ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) को अभियोगमा अनुसन्धानको दायरामा रहेका दुई चर्चित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुनः १२ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो। अनुसन्धानलाई निरन्तरता दिने क्रममा अदालतले व्यवसायीहरूलाई थप समय हिरासतमा राख्ने निर्णय गरेको हो।
कानुनी प्रक्रियाअनुसार, शंकर ग्रुपका सञ्चालक समेत रहेका सुलभ अग्रवालको हकमा यो छैटौँ पटक म्याद थपिएको हो भने व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थपिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
भट्टलाई चैत १९ र अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको थियो। गहन अनुसन्धानका लागि भन्दै विभागले पटक-पटक म्याद थप गर्दै आएको छ।




