व्यवसायी भट्ट भन्छन् “पक्राउ होइन, अनुसन्धानमा सहयोग गर्न आफैं उपस्थित भएको हुँ”

काठमाडौं / व्यवसायी दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको भनिए पनि उनले भने आफू पक्राउ परेको नभई अनुसन्धानमा सहयोग गर्न आफैं उपस्थित भएको दाबी गरेका छन्।
भट्टले अदालतमा म्याद थपका क्रममा आफू अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्न इच्छुक भएर प्रहरीसमक्ष गएको स्पष्ट पारे। “म पक्राउ परेको होइन, आफैं पीडित भएकाले अनुसन्धानमा सहयोग गर्न अर्थात् सहजीकरण गर्न उपस्थित भएको हुँ,” उनले अदालतमा भने।
यसअघि पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफ्नो खाताबाट अन्य व्यक्तिले कारोबार गरेको दाबी गर्दै आएका छन्। उनका अनुसार उनले केवल टीएमसी (ट्रेड म्यानेजमेन्ट सिस्टम) प्रयोग गर्न अनुमति दिएका थिए, तर त्यसबाहेकका गतिविधिमा आफ्नो भूमिका नरहेको बताएका छन्। “मेरो नाम र क्रेडेन्सियल्स प्रयोग गरेर अरू कसैले कारोबार गरेको हो,” भट्टको भनाइ छ।
उनले आफ्नो बयान प्रक्रिया सकिएको, थप प्रमाण नभएको र अनुसन्धानका सबै चरणमा आफू उपस्थित हुँदै आएको पनि बताएका छन्। “मैले कुनै पनि तारिख छुटाएको छैन,” उनले भने।
बुधबार सीआइबीले बोलाएर उनलाई सम्पत्ति शुद्धीकरण विभागसमक्ष लगिएको थियो। सो कदमप्रति उनले असन्तुष्टि जनाउँदै आफूलाई फसाउन बदनियतपूर्वक प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्।
अदालतले भने भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको छ।
सम्बन्धित निकायले अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेको जनाएको छ भने भट्टले निष्पक्ष छानबिनबाट सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।




