५ फाल्गुन २०८२, मंगलवार

भदौ २३ र २४ गते छुट्टाछुट्टै विश्लेषण आवश्यक : उपमहासचिव भट्टराई



धनगढी/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ गते भएका घटनामा नवयुवाको निर्ममतापूर्वक हत्या हुनुमा राज्यको असावधानी स्पष्ट देखिएको बताएका छन्। एक भिडियो सन्देश जारी गर्दै उनले विभिन्न कमजोरीका कारण जेनजी आन्दोलन दुखद दिशातर्फ मोडिएको टिप्पणी गरे।

उनका अनुसार २३ र २४ गतेका घटनालाई एउटै ढाँचामा हेर्नु उपयुक्त नहुने बताउँदै उनले भने कि २३ गते राज्य पक्षको कमजोरी प्रस्ट देखिएको थियो भने २४ गते भने राज्यविरुद्ध सङ्गठित गतिविधि र षड्यन्त्रका तत्वहरू सक्रिय भएका थिए। “हामीले आफ्ना कमजोरी स्वीकार्नुपर्छ, त्यसप्रति आत्मालोचना पनि गरिरहेका छौँ,” उनले भने।

भट्टराईले २४ गते देखिएको आक्रोशलाई स्वाभाविक प्रतिक्रिया मान्दै पनि हिंसात्मक गतिविधि, तोडफोड र आगजनीलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे। उनले घटनाको वस्तुगत विश्लेषण गर्दै जिम्मेवारी छुट्याउनुपर्नेमा जोड दिए।

जेनजी आन्दोलनका क्रममा गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको उल्लेख गर्दै उनले कमीकमजोरीको सम्पूर्ण जिम्मेवारी आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०मात्रैले वहन गर्नुपर्ने अवस्था नरहेको बताए।

निर्वाचनको सन्दर्भ उल्लेख गर्दै उनले एमाले र जेनजी नवयुवाबीच देखिएको अविश्वास लामो समय रहन नदिन संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने धारणा राखे। “अन्तर्विरोधलाई छलफलबाट समाधान गर्ने उद्देश्यले नै हामी संवादमा आएका हौँ,” उनले बताए।

घाइते भएका युवाको पुनर्स्थापना र जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्न सकारात्मक पहल गरिने पनि उनले जानकारी दिए। साथै सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच प्रक्रियागत असहमति भए पनि मूल विषयमा ठूलो मतभेद नरहेको उनको भनाइ थियो। जेनजीले उठाएका केही माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक पर्न सक्ने संकेत उनले गरे।

भट्टराईले २३ र २४ गतेका घटनालाई नबिर्सन आग्रह गर्दै राज्यको कमजोरी र हिंसात्मक गतिविधिलाई फरक ढङ्गले मूल्याङ्कन गर्नुपर्ने बताए। उनले घटनाको छानबिनका लागि गठन गरिएको आयोगको प्रतिवेदन पर्खनुपर्ने उल्लेख गर्दै त्यसबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार