१५ माघ २०८२, बिहीबार

गगनहरुले हाम्रो विश्वास कायम राखुन



अहिलेको नेपाली राजनीति गहिरो सङ्कट र संक्रमणको चरणमा छ। पुराना दलका पुराना नेता समयअनुकूल नहुँदा पनि पदमा टाँसिएर बसेका छन्। नेतृत्व हस्तान्तरण गर्न नमान्ने प्रवृत्तिले दलहरू जर्जर बनेका छन् र आम नागरिकको राजनीतिप्रतिको भरोसा कमजोर भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वैधानिक धाँदली गरेर र नैतिक प्रश्न उठ्ने गरी पुनः अध्यक्ष बनेको प्रसंग होस् वा नेपाली कांग्रेसका शेरबहादुर देउवाले आफैंले छोडिसकेको कार्यकारी शक्ति पुनः आफ्नो नियन्त्रणमा राखेको घटना—यी सबैले प्रणालीमाथि नै प्रश्न खडा गरेका छन्।

यही पृष्ठभूमिमा नेपाली कांग्रेसभित्र समयमै विशेष महाधिवेशनको माग उठ्यो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्रको लोकतन्त्र जोगाउन अग्रसरता देखाए। उनीहरू बाध्य भएर विशेष महाधिवेशनको बाटोमा जानु पर्‍यो। हस्ताक्षर अभियानले देखाएको जनमत महाधिवेशनमा अझ स्पष्ट रूपमा प्रकट भयो। त्यसकै परिणामस्वरूप निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको टिमलाई वैधानिक मान्यता दियो।

यसबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई गरेको कारबाही आयोगले खारेज गरिदियो। यो निर्णय केवल व्यक्तिको जित होइन, दलभित्रको लोकतान्त्रिक मूल्यको संरक्षण पनि हो।

अबको सन्दर्भ अझ गम्भीर छ। गगन थापाले अत्यन्त संयमित, परिपक्व र दूरदर्शी ढंगले अघि बढ्नुपर्ने समय हो। उनीमाथि सचेत नेपालीको ठूलो आशा गाँसिएको छ। अराजकता र आगजनीको राजनीति रुचाउनेहरूले बालेन र रविलाई रोज्लान्, तर देश निर्माणको जिम्मेवारी सन्तुलित, संस्थागत र विचारयुक्त नेतृत्वले मात्र लिन सक्छ।

गगन नेतृत्वको कांग्रेसले अब देशलाई केन्द्रमा राखेर सोच्नुपर्छ—भ्रष्टाचार नियन्त्रण, युवा बेरोजगारी समाधान र सुशासन स्थापना मुख्य एजेन्डा बन्नुपर्छ। एमाले र नेकपाभित्र फरक विचार राख्नेहरू पछाडि पारिएको अवस्थामा गगनले नेकपाका गतिशील नेता प्रचण्डजस्ता पात्रसँग समेत सहकार्य गर्दै सकारात्मक राष्ट्रिय एजेन्डा अघि बढाउन सक्छन् । जोड दिएर भन्नुपर्छ गगनले जो जोगी आए पनि कान चिरिएकै भन्ने उखानलाई गलत सावित गर्न सक्नुपर्छ ।

अहिले गगनले कांग्रेस मात्र होइन नेपाली जनाताको विश्वास पनि जितेका छन् । अब त्यो विश्वास जोगाएर इतिहास बनाउने जिम्मेवारी उनकै काँधमा छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार