उज्यालो नेपालको सपना बोकेर राजनीतिमा होमिए कुलमान घिसिङ

काठमाडौं / मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो यात्रा सक्रिय राजनीतिमै केन्द्रित हुने घोषणा गरेका छन्। उज्यालो नेपाल बनाउने लक्ष्यसहित आफू अब राजनीतिक नेतृत्वको भूमिकामा अघि बढ्ने उनले स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामापछि प्रतिक्रिया दिँदै घिसिङले अबदेखि आफू पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने बताए। मन्त्रालयको जिम्मेवारीका कारण प्रत्यक्ष राजनीति गर्न नसकेको उल्लेख गर्दै अब भने खुला रूपमा जनताको बीचमा रहेर काम गर्ने उनको भनाइ छ।
‘म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ घिसिङले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ।’
उनले देशको वर्तमान अवस्था, समसामयिक चुनौती र आवश्यक परिवर्तनका लागि राजनीतिक नेतृत्व अपरिहार्य रहेको बताए। यही कारण आफूले मन्त्रिपरिषद्बाट बाहिरिएर राजनीतिक मैदानमा उत्रिने निर्णय गरेको उनको दाबी छ।
‘अब त्यो समय आएको छ। भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ र प्रभावकारी रूपमा अघि बढ्छ,’ उनले भने।
यसअघि घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच उपसभापति बन्ने समझदारी भएको चर्चा भए पनि त्यसको औपचारिक कार्यान्वयन नभएको उनले स्पष्ट पारे।
‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भए पनि हालसम्म त्यो कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन।’
घिसिङको यो घोषणासँगै नेपाली राजनीतिमा नयाँ समीकरण र सम्भावनाबारे चासो बढेको छ।




