सात दशकको नेपाल–चीन मित्रता: काठमाडौंमा भव्य कूटनीतिक कार्यक्रम

काठमाडौ/ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै गरेको अवसरमा शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
याक एण्ड यति होटलमा भएको कार्यक्रममा दुई देशबीच सात दशकयताका सुमधुर सम्बन्धका महत्वपूर्ण क्षण स्मरण गरिएको छ ।
वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगस्ट ३) तारिखमा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यही कूटनीतिक सम्बन्धले सात दशक पार गर्न लाग्दा चिनियाँ दूतावासले विशेष समारोह आयोजना गरेको हो ।
तत्कालीन राजदूत छन् सोङ कार्यकाल सकेर फिर्ता भएसँगै जिम्मेवारी सम्हाल्न आएका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निमन्त्रणामा यो कार्यक्रम भएको हो ।
कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, संघीय सरकारका मन्त्रीहरू, संवैधानिक अंगका पदाधिकारी र उच्च सरकारी अधिकारी सहभागी छन् ।

त्यसैगरी कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा प्रमुख, नागरिक समाजका सदस्य, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र नेपालमा कार्यरत चिनियाँ नागरिकहरू पनि सहभागी थिए ।
दुई देशको सम्बन्ध ७० वर्ष पूरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले साढे तीन सय पृष्ठको पुस्तक प्रकाशन गरेको छ ।
यस पुस्तकमा नेपाल–चीन सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ । अहिले काठमाडौंमा चिनियाँ दूतावासको सहयोगमा नेपाली पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई चिनियाँ भाषा तालिम पनि चलिरहेको छ ।
हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शनी र सिजाङ सांस्कृतिक सप्ताह भइसकेको छ ।
दुई देशको सम्बन्धले ७० वर्ष छोएको अवसरमा पूरै वर्षभर सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि र कूटनीतिक स्वागत समारोह कार्यक्रम भइरहेका छन् ।






