ओलीविरुद्धको प्रहार र मिडिया ट्रायलको अर्थ छैन : राई

काठमाडौं, मंसिर २५ गते/ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अहिले योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएका छन्।
उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको संवेदनशील परिस्थितिमा एमाले ११ औं महाधिवेशनतर्फ अघि बढिरहेको बेला ओलीको नेतृत्व रोक्न विभिन्न प्रयास भएका बताए ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले ओलीमाथि भइरहेको प्रहारलाई महाधिवेशनले पराजित गर्ने दाबी गरे। ‘एकातिर महाधिवेशनको तयारी छ, अर्कोतिर ओलीको विकल्प भन्ने कुरा निरन्तर उठाइँदैछ। गाली, हल्ला र योजनाबद्ध प्रहार भइरहेको छ,’ उनले भने।
उनले अध्यक्ष केपी शर्मा ओली जेल जाछन् भन्ने हल्ला समेत फैलाइएको बताएका छन्। ‘मिडिया ट्रायल भइरहेको छ। ओलीलाई थुनिँदैछ भन्ने गलत सूचना छरिएको छ। पार्टीभित्रका केही बलिया नेताले चुनौती दिएको कुरा पनि सुनिन्छ,’ उनले बताए।
राईले भदौ २३ र २४ को घटनाका पछाडि धेरै कारण भएको बताउँदै राज्य संयन्त्रलाई सुधार गर्न राजनीतिक नेतृत्वले पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे।
उनले सुशासनका धेरै प्रतिवद्धता कार्यान्वयन हुन नसकेको र कर्मचारी तन्त्रमा कमीशन संस्कृति कायम रहनु ठूलो समस्या रहेको बताए।
राईले संघीयता मन नपराउने शक्तिले पनि निरन्तर दबाब बनाइरहेका बताएका छन्। ‘समय कुर्दै भदौ २३ र २४ गते आक्रमण गरियो। युवा पुस्ताको भावनालाई उपयोग गरेर प्रहार गरियो,’ उनले भने।
राईले अघिल्लो राजनीतिक परिवर्तन सबै दल मिलेर सम्भव भएको उल्लेख गर्दै अब त्यसलाई जोगाउन राज्यका अंगहरू प्रभावकारी बनाउन आवश्यक रहेको बताए।




