एमाले खरानीबाट उठिसक्यो, अब निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ : राई

काठमाडौं, मंसिर २५ गते/ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी जनताबीच फर्किसकेको बताएका छन् ।
उनले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरेका छन्। एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर संगठनलाई मजबुत बनाएको बताए।
एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दै गएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि बताए । ‘हामीले मिसन ०८४ का लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उनले भने।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देश गम्भीर संकटमा प्रवेश गरेको र राज्यका अंगमा अराजकता फैलिएको उनको मूल्यांकन छ। ‘जेन–जीका नाममा अराजक समूहले लोकतान्त्रमाथि प्रहार गर्यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ राईले भने।
जेन–जी आन्दोलनमा टेकेर भदौ २४ गते देशमा विध्वंश मच्चाइएको पनि उनले बताए । त्यसपछि गैरसंवैधानिक बाटोबाट सरकार बनाउने र संसद् विघटनको खेल भइसकेको पनि उनको तर्क छ।
अहिले जेन(जी आन्दोलनमा भएको हिंसा र विध्वंशमा एमालेलाई जिम्मेवार ठहर्याउने प्रयास भइरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने माग पनि त्यही वातावरणमा उठाइएको बताए। ‘हल्लाका भरमा नेतालाई हटाउने कुरा हुँदैन। वैधानिक फोरम छ भने त्यही बाटो अपनाओस्,’ राईले दोहोर्याए।
राईले देशका ठूला दल कमजोर अवस्थामा रहेको उल्लेख गर्दै नेपाल कांग्रेसजस्ता पुराना दलसमेत उभिन नसकिरहेको बताए। ‘कतिपय दल विघटन भइसके। नयाँ दल बनिरहेका छन्। एमाले पनि स्तब्धजस्तै देखिएको थियो। ६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ,’ उनले भने।
वडादेखि सहरसम्म पार्टीको पुनः सक्रिय उपस्थिति देखिएको दाबी गर्दै उनले अहिलेको राष्ट्रिय संकटको समाधान एमालेले महाधिवेशनबाट स्पष्ट गर्ने बताए।
‘जेन(जी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ। कता जान्छ भन्ने अनिश्चितता छ। त्यसैले एमालेले अब देशकै नेतृत्व लिन तयार भएको छ,’ राईले भने।
उनले एमालेमा अर्ली महाधिवेशन भइरहेको पनि बताएका छन् । एक वर्षअघि नै महाधिवेशन गरेर एमालेलाई नयाँ चुनौती सामना गर्ने शक्ति बनाउन लागिएको उल्लेख गरे ।
हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प गरेका छौँ । मिसन ०८४ को लक्ष पनि त्यही भएर तय गरेका थियौँ । एघारौँ महाधिवेशनपछि हामी अझै बलियो रुपमा अगाडि आउँछौँ ।




