१८ मंसिर २०८२, बिहीबार

भुसालको आरोप : “एकताको नाममा देखाइएको तमासा, आन्दोलनलाई झन् कमजोर बनाउँदै”



काठमाडौँ, कात्तिक १९ गते / नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले हाल कम्युनिस्ट दलहरूबीच भइरहेको एकता प्रयासप्रति असन्तुष्टि जनाउँदै त्यसले आन्दोलनलाई सुदृढ होइन, झन् समस्याग्रस्त बनाउने टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले माओवादी केन्द्रसँगको एकता प्रक्रिया “उल्टो बाटो हिँडिएको तमासा” भएको बताए। उनका अनुसार, यो पहल नेतृत्वको असफलता लुकाउने प्रयास बाहेक केही होइन।

“ओरालो लागेका नेताहरूको मिलनले कम्युनिस्ट आन्दोलन उकालो चढ्दैन,” भुसालले भने, “यस्तो तमासाले आन्दोलनलाई अझ कमजोर बनाउने छ।”

उनका अनुसार गत कार्तिक १५ गते बसेको पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन गर्दै क्रान्तिकारी पुनर्गठन तर्फ अघि बढ्ने निर्णय गरेको छ।

भुसालले पार्टीका सबै संरचनालाई ‘झूटो एकताको भ्रम’ मा नपरी आफ्नो हैसियतमा रहन आग्रह गरे। उनले मंसिरको पहिलो हप्तामा आयोजना हुन लागेको राष्ट्रिय भेलामा सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गरे।

भेला तयारीबारे जानकारी दिंदै उनले भने, “आगामी भेलाबाट नयाँ कार्ययोजना र कार्यभार तय गरिनेछ। कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि सुरु गरिएको यस पहलमा देशभित्र र बाहिर रहेका सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्तिहरूको सुझाव र साथ आवश्यक छ।”

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार