महेश बस्नेतको नेतृत्वमा एमालेले पुनर्जीवित गर्यो ‘युथ भोलेन्टियर्स फोर्स’
काठमाडौँ, कात्तिक १६ गते/ नेकपा (एमाले) ले आफ्नो पुरानो युवा संरचना युथ फोर्स लाई नयाँ रूप र नामका साथ पुनर्जीवित गरेको छ। शनिबार भक्तपुरको गुण्डुमा आयोजित भेलामा पार्टीले ‘युथ भोलेन्टियर्स फोर्स’ नाममा उक्त संगठन पुनः सञ्चालनमा ल्याएको हो।
पार्टी पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतलाई फोर्सको संयोजक जिम्मेवारी दिइएको छ। मोर्चा संगठन संयोजक भानुभक्त ढकालले औपचारिक घोषणा गर्दै यस संगठनलाई परिमार्जित स्वरूपमा अघि बढाउने बताए।
फोर्सको नेतृत्व टोलीमा नेपाली सेनाका पूर्वजर्नेल विनोद पाण्डे, पुष्प श्रेष्ठ, अमित पौडेल, समिक बडाल र मीनबहादुर शाही सदस्यका रूपमा चयन भएका छन्।
०६५ सालतिर तत्कालीन माओवादी केन्द्रको सहायक संगठन वाइसीएलको गतिविधिको प्रतिवादस्वरूप एमालेले पहिलोपटक युथ फोर्स गठन गरेको थियो। सो समयमा पनि महेश बस्नेतकै संयोजकत्वमा संगठनले सक्रियता देखाएको थियो, जसका कारण देशका विभिन्न भागमा वाइसीएलसँग भिडन्तका घटनाहरू समेत भएका थिए।
भक्तपुरको भेलामा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीले संगठन पुनर्जीवनको घोषणा साक्षी रहेका थिए। एमालेका अनुसार हाल देशमा “पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम र सुरक्षातन्त्रको मनोबल घटाउने प्रवृत्ति”को प्रतिवाद गर्न यो फोर्स सक्रिय बनाइएको हो।
संयोजक बस्नेतले युथ भोलेन्टियर्स फोर्सलाई “शान्ति, सुव्यवस्था र राष्ट्रिय मनोबल सुदृढ पार्ने” उद्देश्यले देशव्यापी रूपमा विस्तार गरिने बताए।




