रावलले गरे महाधिवेशनका लागि दुई वैकल्पिक मोडेलका संगठनात्मक सुधार प्रस्ताव
भूगोल–आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष सदस्य सहभागिता (प्रत्यक्ष निर्वाचित नेतृत्व)

काठमाडौं, कात्तिक १५ गते/ नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले पार्टीभित्र संगठनात्मक लोकतन्त्र, पारदर्शिता र सदस्य सहभागिता सुदृढ गर्नका लागि दुई वैकल्पिक मोडेल प्रस्ताव गरेका छन्।
आगामी राष्ट्रिय महाधिवेशनलाई आन्तरिक सुधार र जनमुखी लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा प्रयोग गर्न उनले सामाजिक सञ्जालबाट आह्वान गरेका हुन ।
रावलले भूगोल–आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष सदस्य सहभागिता (प्रत्यक्ष निर्वाचित नेतृत्व) गरेर दुई मोडेल प्रस्तुत गरेका हुन् ।
भूगोल–आधारित प्रतिनिधित्व मोडेल
नेता रावलले मोडेलमा देशका सबै ७५३ स्थानीय तहलाई प्रतिनिधि छनोटको आधारभूत एकाइका रूपमा लिने प्रस्ताव गरेका छन् ।
प्रत्येक स्थानीय तहबाट कम्तीमा एक जना प्रतिनिधि चयन गरिने र पार्टी सदस्य संख्याका अनुपातमा थप प्रतिनिधि लिन सकिने व्यवस्था गर्नुपर्ने धारणा उनले राखेका छन् ।
रावलले महिलासहित युवा, दलित, जनजाति र पिछडिएका वर्गको अनिवार्य समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनका अनुसार, “यो मोडेलले संगठनमा भौगोलिक सन्तुलन र समान प्रतिनिधित्व कायम गर्नेछ, जसले स्थानीय तहमा सक्रिय कार्यकर्ताको मनोबल वृद्धि र जनसंगठनसँगको सम्बन्ध सुदृढ बनाउनेछ।”
प्रत्यक्ष सदस्य सहभागिता मोडेल
दोस्रो मोडेल अनुसार पार्टीका सम्पूर्ण सदस्यलाई प्रत्यक्ष रूपमा नेतृत्व चयन प्रक्रियामा सहभागी गराइनेछ उनको सुझाव छ, प्रत्येक पालिकामा मतदान केन्द्र राखी सदस्यहरूले डिजिटल वा प्रत्यक्ष मतदानमार्फत मताधिकार प्रयोग गर्न पाउने व्यवस्था रहनेछ।
यसका लागि नागरिकता र सदस्यता प्रमाणीकरण प्रणाली लागू गरिने प्रस्ताव गरिएको छ, जसले मतदान प्रक्रियामा पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नेछ रावलले भनेका छन्, “प्रत्यक्ष सदस्य सहभागिताले पार्टीभित्र लोकतान्त्रिक संस्कार गहिरो बनाउनेछ, नेतृत्व छनोटमा वैधता र सदस्यहरूको विश्वास अभिवृद्धि गर्नेछ।”
यस्तो छ रावलको ससुझाव साझा लक्ष्य र निष्कर्ष
दुवै मोडेलको साझा उद्देश्य एउटै हो उनले भनेका छन्, भौगोलिक सन्तुलन, समावेशी प्रतिनिधित्व, पारदर्शी प्रक्रिया र सदस्य सहभागिता सुनिश्चित गर्दै संगठनात्मक लोकतन्त्रलाई सुदृढ बनाउन सकिन्छ ।
रावलका अनुसार, कुन मोडेल अवलम्बन गर्ने भन्ने निर्णय पार्टीको नीति, प्राविधिक तयारी र आन्तरिक सहमतिका आधारमा गर्नुपर्नेछ।
“दुवै दृष्टिकोणले नेकपा एमालेलाई अझ जनमुखी, संगठित र वैचारिक रूपमा सबल बनाउने उनको विश्वास छ।”




