प्रधानमन्त्रीको शुभकामना “नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ” (भिडियो सन्देशसहित)
काठमाडौं, कात्तिक ३ गते /. दीपावली, नेपाल संवत ११४६, छठ र यमपञ्चक लगायतका चाडपर्वहरूको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई शुभकामना सन्देश दिँदै शान्ति, समृद्धि र सुशासनप्रति राष्ट्रिय एकताको आह्वान गरेकी छन्।
प्रधानमन्त्रीले शुभकामना सन्दशे दिदै भनेकी छन् , “दीपावलीको उज्यालोसँगै आउने यी पर्वहरू अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीक हुन्। यसैले यी पर्वहरूले हामीमा आशा, विश्वास र समृद्धिको सन्देश दिन्छन्।”
यस वर्ष मुलुक परिवर्तनको असीम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भदौमा भएको जेनजी आन्दोलनलाई ऐतिहासिक परिवर्तनको ढोका खुलाउने प्रयासको रूपमा व्याख्या गरिन।
उनले सरकारको तर्फबाट आन्दोलनले उठाएको मागअनुसार समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता पुनः व्यक्त गरिन । उनले भनिन, “जेनजीले चाहेको सुशासन र विकासको आधारशिला यसबीचमा तयार भइसकेको छ।”
प्रधानमन्त्री कार्कीज्यूले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने, दमन र हिंसासम्बन्धी घटनाहरूको निष्पक्ष छानबिन गर्ने, तथा भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने कुरा सरकारको स्पष्ट प्राथमिकता रहेको समेत शुभकामना सन्देशमा उल्लेख गरेकी छन्।




