१८ मंसिर २०८२, बिहीबार

तिहारको उज्यालो सन्देश सँधै काम लागोस, शुभकामना




नेपाल आज पनि अनेकौं चुनौतीहरूको घेरामा आफ्नो पहिचान र सम्भावनाको खोजीमा अग्रसर छ। संघीयता कार्यान्वयनमा रहेका जटिलता, बेरोजगारी, महँगी, भ्रष्टाचार, र विकासमा देखिएको धीमेपनले जनजीवन कष्टकर बनेको छ। यतिमात्र होइन, पछिल्ला दिनहरूमा जेनजी आन्दोलनका नाममा मुलुक तोडफोड र आगजनीको चपेटामा परेको छ।

तत्कालिन केपी ओली सरकारको दम्भ र अव्यस्थापका कारण मुलु कहिल्यै नफसेको कठिनाइमा परेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका नाममा करिब ८० जनाको ज्यान गएको छ । खरबौको सरकारी र नीजि सम्पति क्षति भएको छ । नागरिक असन्तोष झन बढ्दै गएको छ, जसले शासन प्रणालीप्रतिको विश्वास घटाइरहेको छ। सरकार र जनताबीचको सम्बन्ध कमजोर बन्दै गएको देखिन्छ।

यही बेला फागुन २१ गते प्रतिनिधि सभाको चुनाव तोकिएको छ । तर पनि चुनाव हुने कुरामा विश्वास गर्न सकिने आधारहरु कमजोर छन् । २०८४ मा हुनु पर्ने चुनाव दुई वर्ष अगाडि नै गर्न खोजिएको छ । त्यो चुनाव हुन सकेन भने झन ठुलो संकट निम्तिने निश्चित छ ।

यस्ता संवेदनशील परिस्थितिमा तिहार मनाउनु पर्ने अवस्था छ । यो पर्वले आत्मावलोकन, आत्मशुद्धि र पुनर्जागरणको सन्देश दिनेछ भन्ने विश्वास लिनु पर्छ नै। तिहार उज्यालो, श्रद्धा, माया र भाइचाराको पर्व हो। काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइटीका जस्ता विविध पक्षहरूको पूजा–आराधना हुने यो पर्वले जीवनका विविध आयामहरूमा सम्मान र समर्पणको भावनालाई उजागर गर्छ। तिहारको उज्यालोले केवल घर आँगन मात्र होइन, समाज र राज्य सञ्चालनमा पनि नैतिकताको उज्यालो फैलनुपर्ने आवश्यकता देखिन्छ।

नेपालको वर्तमान अवस्थामा तिहारको सन्देश अझ गहिरो अर्थमा लिने बेला आएको छ। आन्दोलन, असहिष्णुता, दम्भ र अनावश्यक द्वन्द्वबाट देशलाई निकास दिनका लागि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्न जरुरी छ। न्याय, समानता, र समृद्धिको उज्यालो नफैलाइन्जेल तिहारको दीप पनि अधुरो लाग्नेछ।

यस तिहारमा हामी सबैले परिवर्तनको संकल्प गरौं— सोचमा, व्यवहारमा र नेतृत्वमा। उज्यालो केवल गुठी र गाग्रीमा होइन, शासन प्रणाली र नीति निर्माणमा फैलियोस्।

शुभ दिपावली २०८२२ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार