पूर्वप्रधानमन्त्री प्रचण्ड र परिवारप्रति भ्रामक प्रचारप्रति सचिवालयको आपत्ति

काठमाडौँ, असोज २६/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूमाथि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत लक्षित गर्दै गरिएको प्रचारप्रति संयोजक प्रचण्डको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।
सचिवालयका तर्फबाट प्रेस संयोजक गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा हाल मुलुक संवेदनशील चरणमा रहेका बेला पार्टी नेतृत्वमाथि नियोजित रूपमा गरिएका तथ्यहीन, पूर्वाग्रही र चरित्रहत्या गर्ने खालका सामग्रीप्रति खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गरिएको छ।
प्रेस नोटमा भनिएको छ, “नेपालको संविधान, सम्बन्धित कानुन र पत्रकार आचारसंहिता अनुसार समाचार सामग्रीहरू सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोणसहित प्रस्तुत गर्नुपर्ने न्यूनतम दायित्व हुन्छ। तर पछिल्ला दिनमा संयोजक प्रचण्ड र उहाँको परिवारलाई लक्षित गर्दै प्रकाशितरप्रसारित समाचारमा ती मापदण्डहरूको खुला उल्लंघन गरिएको छ।”
सचिवालयले प्रचण्ड निवासबाट जेन जेड आन्दोलनअघि दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी तैनाथ गरिएको भन्ने जस्ता दाबीहरूलाई “निराधार, कपोकल्पित र प्रायोजित” बताएको छ। यस्ता भ्रामक विवरणहरूको प्रमाण दिन सम्बन्धित सञ्चारमाध्यमहरूलाई सचिवालयले खुला चुनौती दिएको छ।
यसका साथै, यस्ता गलत प्रचार साइबर कानुनविपरीत भएकाले त्यस सम्बन्धमा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन सम्बन्धित सरकारी निकायहरूलाई सचिवालयले औपचारिक अनुरोधसमेत गरेको छ।
प्रेस नोटमा भनिएको छ, “यस्ता दुरासयपूर्ण र असत्य सामग्रीहरूको प्रचारप्रसार पुनः दोहोरिएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक स्वयंमाथि पर्नेछ।”
सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक र उत्तेजनात्मक प्रचारप्रति सचेत रहन र यथार्थ बुझेर धारणा बनाउन आग्रहसमेत गरेको छ।




