विशेषबाट नियमित महाधिवेशनतर्फ मोडिए गगन थापा

काठमाडौं, असोज २३/ नेपाली कांग्रेसभित्र जारी गहिरिँदो बहसको बीचमा महामन्त्री गगन थापाले पार्टीलाई नियमित महाधिवेशनतर्फ लैजानुपर्ने प्रस्ताव अघि सारेका छन्।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा थापाले मंसिरमै नियमित महाधिवेशनको तयारी गर्नुपर्ने धारणा राखेका हुन्।
यसअघि भने थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनलगत्तै विशेष महाधिवेशन आवश्यक रहेको बताउँदै आएका थिए। तर, पछिल्लो प्रस्तावले कांग्रेसभित्रको रणनीतिक ध्रुवीकरण नयाँ मोडमा पुगेको संकेत गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. शशांक कोइरालाले गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव राखेको जानकारी दिए।
त्यसैबीच, आजै आफ्नै निवासमा केही नेताहरूसँग छलफल गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर संकलन अभियानले पार्टी फुटको जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
नेतृत्वको ढाँचाबारेको बहस गहिरिँदै गइरहेका बेला गगन थापाको यो नयाँ प्रस्ताव कांग्रेसको आगामी बाटो कता मोडिन्छ भन्ने संकेतको रूपमा हेरिएको छ।




