काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीले मनसुनजन्य विपद्लाई लक्षित गर्दै निगरानी बढायो

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशभर भारीदेखि अतिभारी वर्षा हुने अनुमान गरेसँगै सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकाका सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सक्रिय निगरानी थालेको छ।
शुक्रबार साँझदेखि नै उपत्यकाका चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा सशस्त्र प्रहरीको पट्रोलिङ, माइकिङ अभियान सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
खोला किनार र डुबानको सम्भावना रहेका क्षेत्रहरूमा बासिन्दालाई सतर्क रहन आग्रह गर्दै, उद्धार आवश्यक परे १११४ नम्बरमा सम्पर्क गर्न सशस्त्र प्रहरीले अनुरोध गरेको छ।
राष्ट्रव्यापी तयारी
विपद् जोखिम न्यूनीकरण तथा तत्काल प्रतिक्रिया सुनिश्चित गर्न सशस्त्र प्रहरीले देशभरका सबै युनिटहरूलाई तयारी अवस्थामा राखेको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटहरूलाई आवश्यक स्रोत–साधनसहित पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरीको अनुसार, हाल गोताखोर टोली, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट र एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा छन्।
गृहमन्त्रीको स्थलगत चासो
यसै सन्दर्भमा, गृहमन्त्री ओमप्रकाश अर्यालले पनि सशस्त्र प्रहरी बलको उपत्यकास्थित युनिटहरूको विपद् पूर्वतयारी र परिचालन अवस्थाबारे जानकारी लिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यकाका युनिट कमाण्डरहरूले गृहमन्त्रीलाई बृहत जानकारी गराएका थिए।




