१९ मंसिर २०८२, शुक्रबार

“पुनर्निर्माणबिनै संसद चल्दैन” : सभामुख भण्डारी



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा भवन पूर्ण रूपमा पुनर्निर्माण नभएसम्म संसद सञ्चालन सम्भव नभएको बताएका छन्।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सभामुख भण्डारीले प्रदेश सभा सचिवालयसहित ९० प्रतिशत संरचना आगलागीबाट नष्ट भएको जनाए। उनले भने, “हामी पुनर्निर्माणपछि मात्रै संसद सुचारु गर्नेछौं।”

भण्डारीले सुदूरपश्चिममा सबैभन्दा धेरै सरकारी संरचना नष्ट भएको उल्लेख गर्दै यसलाई सुदूरपश्चिमप्रतिको उपेक्षाको प्रमाणका रूपमा प्रस्तुत गरे। “हामी त केही वर्षको लागि आएका हौं, तर यो संरचना भावी पुस्ताका लागि आवश्यक छ,” उनले जोड दिए।

बचेका संरचनामा अस्थायी इकाइ स्थापना गरेर काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिंदै उनले संघीय सरकार गम्भीर नभएको आरोप पनि लगाए।

राजनीतिक अस्थिरता र भ्रष्टाचारको जरो चुनावी प्रणालीमा रहेको उल्लेख गर्दै उनले भने, “संसद विघटनपछि फेरि त्यही प्रणालीमा चुनाव गरिनु गलत हो, यसले देशलाई फेरि द्वन्द्वतर्फ लैजान सक्छ।”

सभामुख भण्डारीले समूहगत भागबण्डाका आधारमा मन्त्री बनाउने अभ्यासले समाधान नदिने समेत बताए।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार