१९ मंसिर २०८२, शुक्रबार

शहीद घोषणा गरिएका जेनजीहरूलाई राष्ट्रिय सम्मानका साथ बिदाइ




काठमाडौँ/ जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका नागरिकहरूको मंगलबार काठमाडौँको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

कार्यक्रममा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले मृतकहरूलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। उनीहरूका परिवारजन र आफन्तहरूको उपस्थितिमा शवयात्रा आर्यघाटसम्म पुर्‍याइएको थियो।

आर्यघाटमा सुरक्षाकर्मीहरूद्वारा सलामी अर्पण गर्दै मृतकलाई राष्ट्रिय सम्मान दिइएको छ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्दै, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। साथै, असोज १ गतेलाई राष्ट्रिय शोकको रूपमा सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरिसकेको छ।

आजको अन्त्येष्टि सोही निर्णयको कार्यान्वयनस्वरूप सम्पन्न गरिएको हो।

यस ऐतिहासिक दिनमा जनताले आफ्ना आवाजका लागि लड्नेहरूलाई राष्ट्रले दिएको सम्मानलाई सकारात्मक रूपमा बुझेका छन्। आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्न पनि सरकारलाई चाँडो कदम चाल्न आग्रह भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार