जेनजीमा नेतृत्व संकट? अर्यालविरुद्ध चर्कियो असन्तोष

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले नयाँ अन्तरिम मन्त्रिपरिषद्को रूपरेखा सार्वजनिक गरेपछि जेनजी आन्दोलनभित्र सत्ता समीकरणको तनाव सतहमा आएको छ।
कानुन तथा गृहमन्त्रीको रूपमा अधिवक्ता ओमप्रकाश अर्यालको नाम घोषणा हुनासाथ, जनजीका केही युवाले बालुवाटारमै प्रदर्शन गर्दै असन्तोष व्यक्त गरेका छन्।
उनीहरूका अनुसार, आन्दोलनमा अगुवाइ गर्ने सुजन गुरुङ वा त्यही धारका अर्का कुनै युवाले गृहमन्त्रीको जिम्मेवारी पाउनु पर्ने थियो। उनीहरूको भनाइमा, अर्याल “सहजकर्ता मात्र” हुन्, जबकि “सडकमा घाइते हुनेहरू” उपेक्षित भइरहेका छन्।
आइतबार प्रधानमन्त्री कार्कीले ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र कानुन तथा गृहमन्त्रीमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेपछि यो विवाद चुलिएको हो।
तीनै मन्त्रीहरूको शपथ सोमबारका लागि तय गरिएको छ।
- घिसिङ: नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक
- खनाल: पूर्व अर्थसचिव
- अर्याल: काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार तथा जनजी आन्दोलनका कानुनी पक्ष सम्हाल्ने व्यक्ति
तर गृहमन्त्री पदमा अर्यालको नाम सिफारिस भएपछि आन्दोलनकारी समूहभित्र गहिरो असन्तोष देखिएको छ। केहीले अर्याललाई “बाहिरी पात्र” भन्दै स्वीकार गर्न अस्वीकार गरेका छन् भने, केहीले सुजन गुरुङप्रति पनि असन्तोष पोख्दै नेतृत्वकै पुनरावलोकनको माग गरेका छन्।
युवा नेतृत्वले लिएको अडान र प्रधानमन्त्री कार्कीको निर्णयबीचको यो द्वन्द्वले अन्तरिम सरकारको प्रारम्भमै अस्थिरता देखाएको विश्लेषण गरिँदैछ।




