पालिका प्रमुखले कर्मचारी हराएको सूचना जारी गरेपछि

रोल्पा / थबाङ गाउँपालिकामा नेपाल टेलिकमको सञ्जाल समस्या भन्दै कार्यालय सम्पर्क नहुने जानकारी दिइए पनि कर्मचारीहरू आत्मपक्षबाट काम छाडेर बेपत्ता भएको ठेकेदार पक्षको गम्भीर आरोप छ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर घर्तीमगर, लेखा शाखा प्रमुख हरीराज मर्हजन, सहायक प्रशासक यज्ञप्रसाद कडेल, सब-इञ्जिनियर चन्द्रप्रकाश ओली र निशा आचार्य, साथै सवारी चालक प्रतीक केसी असार २३ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।
गाउँपालिकाले असार २५ गते प्रेस विज्ञप्ति जारी गर्दै सञ्जाल समस्या रहेको र त्यसैका कारण ओटिपी कोड जनरेट गर्न नसकेको जनाएको थियो। तर, निर्माण कम्पनीका प्रतिनिधिहरूले भने सञ्जाल समस्या बहाना मात्र भएको दाबी गरेका छन्।
उनीहरूको भनाइअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ठेकेदारसँग घुस मागिएको थियो। मागअनुसार रकम नदिएपछि भुक्तानी प्रक्रिया रोकिनुका साथै सम्बन्धित कर्मचारीहरू ‘बाग्लुङतिर फरार’ भएको आरोप उनीहरूले लगाएका छन्।
“मोबाइल सञ्जाल छैन भन्नु केवल जनतालाई झुक्याउने कसरत हो,” एक निर्माण व्यवसायीले नाम नखुलाउने सर्तमा भने, ओटिपी कोड बहाना हो, घुस मागिएको थियो, हामीले अस्वीकार गरेपछि भुक्तानी अड्काइयो।”
स्थानीयवासी र सेवाग्राहीहरू पनि कार्यालयका जिम्मेवार कर्मचारीहरू अचानक सम्पर्कविहीन हुनु र कुनै पनि माध्यमबाट सम्पर्क नहुनु शंकास्पद भएको बताएका छन्।
अब गाउँपालिकाले सञ्जाल समस्या तत्काल समाधान गर्न र बेपत्ता कर्मचारीहरूबारे स्पष्ट जानकारी दिनुपर्ने माग बढ्दै गएको छ। स्थानीय तहमा यसरी अनियमितता र उत्तरदायित्वहीनताको आरोप लाग्नुले सरकारप्रति जनविश्वास घट्ने खतरा रहेको जानकारहरू बताउँछन्।




