२ श्रावण २०८२, बिहीबार

सुदूरपश्चिममा शाह सरकारको बजेट भयो पारित



धनगढी: मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको ३३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले बजेटसँग सम्बन्धित विधेयक प्रस्तुत गरेका थिए। उनले प्रदेश सरकारको आर्थिक प्रस्ताव कार्यान्वयनका लागि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए। सभामुख भीमबहादुर भण्डारीले उक्त प्रस्तावलाई ध्वनी मतमार्फत निर्णयार्थ पेश गर्दा विरोधमा आवाज नउठेपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे।

यसअघि बजेटमाथि भएको तीन दिन लामो छलफलमा सत्ता पक्ष र प्रतिपक्षका गरी २७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। छलफलका क्रममा अधिकांश सांसदहरूले बजेट योजनाहरू दलाल र विचौलियामार्फत बाडफाँट हुने गरेको आरोप लगाएका थिए। सांसदहरूले योजनामा भएको सम्भावित दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति गठनको माग समेत गरेका थिए।

बजेटमाथि आलोचना गर्नेहरूमध्ये सत्तारुढ दलका केही सांसदहरू समेत थिए। तर अन्ततः उनीहरूको समेत समर्थनसहित बजेट सर्वसम्मतले पारित भएको हो।

आर्थिक मामिला मन्त्री थापाले असार १ गते बजेट प्रस्तुत गरेका थिए। कुल ३३ अर्ब ४७ करोडको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार