३ आश्विन २०८१, बिहीबार

बजेट भाषण प्रतिपक्षद्धारा बहिस्कार




धनगढी/ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले बजेट भाषण बहिस्कार गरेका छन् ।

सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले पहिले नाराबाजी गरेका थिए । २० मिनेटपछि फेरि शुरु भएको बैठकमा बजेट भाषण हुन थालेपछि भने उनीहरुले बैठक बहिस्कार गरेर बैठक कक्ष छोडे ।

माओवादीका संसदीय दलका नेता मानबहादुर धामीले, हामीले व्यवस्थालाई कता डोर्याइरहेका छौ, संविधानले असार १ गते बजेट ल्याउनु भन्छ तर आज किन ल्याइदैछ भन्दै प्रश्न गरे ।

प्रदेश सभामा बोल्दै उनले भने कहीँ नभएको जात्रा हाडी गाउँमा भन्दै आज असार हो कि भदौ ३१ हो भनेर फेरि प्रश्न गरेका थिए ।

प्रदेश प्रमुखको भूमिका ठिक नहुँदा असार १ गते तत्कालिन सरकारले ल्याएको बजेट पारित नभएको आशय पनि उनले व्यक्त गरे । उनले आज ल्याउन थालिएको बजेट कार्यान्वयनमा समस्या हुने पनि बताए ।

नेता धामीले बोली सकेपछि माओवादी र समाजवादीले बैठक कक्ष छोडेका हुन । उनीहरुले गैर संवैधानिक तरिकाले बजेट ल्याउन मिल्दैन भन्दै प्रदेश सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा अर्को प्रतिपक्षी दल राप्रपाका खेमा विष्ट मात्र छिन् ।

विपक्षीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट भाषण गरिरहेका छन् ।

असार १ गते तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन ।

बजेट पास नहुँदा दुई महिनादेखि सुदूरपश्चिम बजेट बिहिन थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार