३१ भाद्र २०८१, सोमबार

मानवीय दिवस मनाइयो, गेज रिडरको पारिश्रमिक बढाउन माग




धनगढी/ धनगढीमा विश्व मानवीय दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन् । सो अवसरमा अन्तरक्रिया तथा मानवीय काम गरेर उचित सेवा सुविधा नपाएका पूर्व सूचना प्रणालीका जल सतह मापक (गेज रिडर) ले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई ज्ञापन पत्र बुझाए ।

सो अवसरमा बोल्दै मन्त्री सार्कीले गेज रिडरहरुको पारिश्रमिक बढाउने सवालमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले गेज रिडरका मागलाई आफूले मन्त्रीपरिषदमा लैजाने बताए । प्रदेशको जोखिम बीमा गर्नका लागि छलफल चलाइएको उल्लेख गर्दै मन्त्री सार्कीले भने , “यो बीमा भएमा सबैको जोखिम बहन हुनेछ ।”

पारिश्रमिक वृद्धि, आवश्यक सेवा सुविधा तथा सुरक्षा सम्बन्धी सामग्री, स्वास्थ्य बीमा, जीवन बीमा, दुर्घटना बीमा लगायतको माग गरेर गेज रिडरहरुको तर्फबाट गेजरिडर हीरादेवी मिश्रले ज्ञापनपत्र बुझाएकी थिइन ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले गेज रिडरका विषयलाई निर्णय प्रक्रियामा लैजान आवश्यक रहेको धारणा राखे ।

त्यस्तै, पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य घनश्याम चौधरीले विपत् जोखिम न्यूनीकरणको सवालमा सरकारले प्रभावकारी काम गर्नु पर्नेमा जोड दिए ।

अर्का प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपत्बाट हुने क्षति न्यूनीकरणका लागि धेरै पहल भए पनि पर्याप्त नरहेको भन्दै अझ यसमा बढी काम गर्न आवश्यक रहेको बताए ।

जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिनका प्रमुख सञ्जय साहले समेत गेज रिडरको पारिश्रमिक बढ्नु पर्ने बताए । यसका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको उनको भनाइ थियो ।

कार्यक्रममै गेज रिडर मानबहादुर चौधरीले ५० रुपियाँ खर्चेर आफूहरुले पाँच हजार व्यक्तिको ज्यान बचाउने काम गर्दै आए पनि न्यून पारिश्रमिकका कारण गुजारा गर्न समस्या रहेको सुनाए ।

सरकारले एकातिर न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अर्कोतिर आफैले त्यसलाई कार्यान्वयन नगर्ने अवस्था देखिएको गैरसरकारी संस्था महासंघका अध्यक्ष देवीप्रसाद खनालको भनाइ छ । उनले गेज रिडरका माग सम्बोधनका लागि सदनदेखि सरकारसम्म आवाज उठाइ दिन प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरुलाई आग्रह गरे ।

मर्सिकोर नेपालका संगिता अधिकारीले मर्सिकोरले पनि गेज रिडरहरुलाई क्षमता अभिवृद्धि गर्ने, संचारको लागि रिचार्ज कार्ड, सुरक्षा सामग्रीहरु जस्तै छाता टर्च लाईट र बिमा गर्न पनि सहयोग गर्दै आएको बताइन ।

कार्यक्रम फाया नेपालका सच्चिदानन्द जोशीले सञ्चालन गरेका थिए । सो कार्यक्रम फाया नेपाल, हेल्पएज इन्टरनेश्नल,ओरेक, राष्ट्रिय अपांग महासंघ नेपाल, प्रदेश कमिटी, निड्स नेपाल , संसदीय मामिला पत्रकार समाज धनगढी, सञ्चार प्रतिस्ठान नेपाल, कैलाली, फेडो, सिएसएसडी, सेवक नेपाल र गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम लगायतको आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार