३१ भाद्र २०८१, सोमबार

२५ लाख बढीका योजनामा मात्रै बजेट विनियोजन हुन्छ : मुख्यमन्त्री




धनगढी/ प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सोमबार पत्रकार सम्मेलन गर्दे सरकारले नयाँ बजेटमा २५ लाखबढीका योजना मात्रै बजेट विनियोजन गर्ने बताएका छन् ।


उनले बजेट निर्माण प्रक्रियामा रहेको बताउदै सबै क्षेत्र, राजनीतिक दल, र नागरिक समाजसँग संवाद र छलफल जारी राखेको बताए।

प्रदेश सरकारले आगामी वार्षिक विकास कार्यक्रम (बजेट) प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गरी अघि बढ्न केही आधारहरू तय गरेको छ।

२५ लाख भन्दा माथि मात्र बजेट विनियोजन गर्ने, २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्थामा स्थानिय तहलाई सशर्त अनुदानका रूपमा हस्तान्तरण गर्ने, र कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ।

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सुशासन, जनमुखी नीति, र समृद्धि प्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

सरकार गठनको पहिलो दिन तीनवटा महत्त्वपूर्ण निर्णयहरू गर्दै वित्तीय अनुशासन र सुशासन प्रवर्धनका लागि कार्यदल गठन, सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने, र प्राकृतिक विपद्बाट पिडित व्यक्तिहरूको दुर्घटना विमा गर्ने घोषणासमेत गरिएको छ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको समग्र विकास, सुशासन प्रवर्धन, र योजना छनोट एवं बजेट विनियोजनमा थप सुझावका लागि सम्पूर्णलाई आह्वान गर्दै प्रदेशवासीको हितमा सरकार दृढताका साथ अगाडि बढिरहेको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार