३१ भाद्र २०८१, सोमबार

जैविक प्रविधि प्रवद्र्धन गर्न दिगो जिविकोपार्जन कार्यक्रम शुरु




सुख्खड/ कैलालीको घोडाघोडी नगरपालिकामा दिगो जिविकोपार्जनका लागि समावेशी विकास परियोजना आजदेखि शुरु भएको छ ।
पछाडि परेका विपन्न समुदायका लागि सञ्चालन हुने भएको सो परियोजना घोडाघोडी नगरपालिकाका वडा नम्बर वडा नम्बर ४, ५, ८ र १० मा लागू हुने भएको छ ।

सो परियोजनाले वातावरणीय दिगोपनमा समुदायको क्षमता बृद्धि हुने अपेक्षा गरिएको छ । सो परियोजना क्रममा जैविक प्रविधि प्रवद्र्धन, बहुकृषि प्रणाली, वाली विविधिकरण, जमिनको बहुउपयोग, पानीको बहुउपयोग लगायतका क्षेत्रमा समुदायको वानी परिवर्तन गर्न सकिने विश्वास गरिएको छ ।

आइतबार परियोजनाको शुरुवाती कार्यक्रममा बोल्दै नगर प्रमुख खड्क रावतले समुदायलाई अधिकार मात्र होइन उनीहरुको दायित्व समेत बोध गराउने गरेर काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले कार्यक्रमको अवधी बढाउनु पर्नेमा पनि जोड दिए । कृषि शाखाका सुमित्रा शाहीले परियोजनाको अवधी बढाउदा थप उपलव्धी हासिल हुन सक्ने भएकोले कार्यक्रम अवधी थप्नु पर्ने सुझाव दिइन ।

सो अवसरमा कार्यक्रमको बारेमा याक नेपाल, कैलालीका विनोद सिंहले परियोजना बारे जानकारी दिए । कार्यक्रममा उपप्रमुख गुलिया चौधरी, वडाअध्यक्षहरु, निमित्त प्रशासकीय अधिकृत खगेन्द्र सिंह, याक नेपालका अध्यक्ष बलबहादुर रोकाया, कार्यकारी निर्देशक डवल वम लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाको समन्वयमा याक नेपालले सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । परियोजनाका लागि संयुक्त राष्ट्र सङघीय विकास कार्यक्रम ( यूएनडिपी) ले आर्थिक सहयोग गरेको छ ।

कार्यक्रमको सामाजिक शाखाका इन्दु जोशीले सञ्चालन गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार