३१ भाद्र २०८१, सोमबार

मुख्यमन्त्री शाहले साउन ३० मा विश्वासको मत लिने




धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले साउन ३० गते दिउँसो ११ बजे प्रदेश सभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने बताए ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पद्बाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहलाई गत साता दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी गरी सुदूरपश्चिममा तीन दलको संयुक्त सरकार रहेको छ । जम्मा ५३ सदस्यीय प्रदेश सभामा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।

सत्तारुढ दल नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य छन् । सत्तारुढ दलसंग जम्मा ३६ जना प्रदेश सभा सदस्य रहेका कारण मुख्यमन्त्रीले सजिलै विश्वासको मत प्राप्त गर्ने छन् ।

उनको विपक्षमा भने माओवादीका १०, एकीकृत समाजवादीका चार , राप्रपा र स्वतन्त्रका १÷१ गरेर १६ जनाले विपक्षमा मतदान गर्ने सम्भावना छ ।

यसैबिच, मुख्यमन्त्री शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् । कार्य व्यस्तताका कारण उनले भदौं १५ गतेसम्मका लागि भेटघाट बन्द गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार