३१ भाद्र २०८१, सोमबार

मन्त्री सहितको मुख्यमन्त्रीको सपथ एकै साथ हुनु सकरात्मक संकेत





नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार मन्त्रीमण्डलको पूर्णता सहित पद तथा गोपनियताको सपथ ग्रहण गर्न सफल भएका छन् । मुख्यमन्त्रीसंगै सबै मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण एकै साथ गर्ने काम विगतमा कमै भएका थिए । यसपटक सायद पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्ट पछि उनले त्यो सफलता पाएका छन् ।

विहानीले दिनभरको काम संकेत गर्छ भने झै मन्त्रीमण्डलको पूर्णता अबको कामका लागि निक्कै सहायक सिद्ध हुनसक्छ । उनले सोमबार संविधानले दिएको मापदण्ड अनुसार नै एक मुख्यमन्त्री छ मन्त्री र तीन राज्यमन्त्र सहित १० सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । यसलाई सकरात्मक काम भन्नुपर्छ । हो आलोचकले ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था गरेको बेला पूर्णमन्त्रीमा एउटा पनि मन्त्री नबन्नु दुःखद हो भन्न थालेका छन् । दुई महिलालाई राज्यमन्त्री बनाएर ३३ प्रतिशतको मान्यतालाई स्वीकार गरेका छौ त भनिएला तर त्यो निर्णायक र केही गर्न सकिने अवस्था होइन । राज्यमन्त्री बनाउनु भनेको खाली झण्डा, गाडी र आवासको सुविधा दिने कुरा मात्र हो ।

यो मन्त्रीमण्डलको अर्को नकरात्मक पक्ष भनेको पार्टीको संस्थापन पक्ष बाहेकलाई समेट्न नसक्नु पनि हो । सुदूरपश्चिम प्रदेश सभामा एमाले र कांग्रेसको संस्थापन पक्षको विपक्षमा रहेका एक/एक जनालाई पनि समेटेर लैजान सकेको भए राम्रो सन्देश जान सक्थ्यो । यो पटक दलित समुदायले भने अघिल्लो सरकारमा झै पूर्ण मन्त्री पाएको छ । समावेशी राज्यको कल्पना गरेको संविधान अनुसार त्यो एउटा उपलव्धी हो ।

अर्कोतिर सरकारलाई समर्थन नदिएको तर समर्थन दिने अनुमान गरिएको नागरिक उन्मुक्तीलाई पनि सरकारमा समेटिएको छ । थारु बाहुल रेको कैलालीमा थारुकै जगमा उठेको पार्टीका प्रदेश सभा सदस्यलाई मन्त्री बनाउनु पनि राम्रो कुरा हो । सुदूरपश्चिम सरकारलाई यो कुराले पनि समाबेशी बनाउन मद्धत गरेको छ ।

जे होस शुरुमै मन्त्रीमण्डलको पूर्णता एकै पटक दिन सक्नु सफलता हो । बरु अब सरोकारवाला पक्षसंग सहकार्य, समन्वय गरेर अघि बढ्न सके सुदूरपश्चिमका जनताका सवालमा केही गर्न सकिएला । मन्त्रीमण्डल एकै पटक पूर्ण बनाउन सक्ने जस्तो तत्परता जनताका पक्षमा पनि होस । सरकारले ती कुरामा ध्यान दिन सकोस ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार