३१ भाद्र २०८१, सोमबार

सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्रीमा शाह नियुक्त



धनगढी / सुदूरपश्चिम प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । उनी यसअघि पनि १४ महिना मुख्यमन्त्री भएका थिए ।

आइतबार बिहान नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबारै साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन।

उनी प्रदेश सभाको यही कार्यकालमा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा भएका छन् । पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए । उनी कैलाली क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका हुन ।

शाहपछि मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा ( एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारी शुक्रबार पदबाट राजीनामा गरेपछि शाहले फेरि मुख्यमन्त्री हुने मौका पाएका हुन ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री हुन २७ जनाको सर्मथन आवश्यक पर्छ, शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरेर २९ जनाको समर्थन रहेको छ ।

मुख्यमन्त्री शाहले मन्त्रीमण्डललाई पूर्णता दिएर सोमबार पद तथा गोपनियताको सपथग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार