३ आश्विन २०८१, बिहीबार

मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभामा बोलेर राजीनामा गर्ने




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार दिउँसो ४ बजे प्रदेश सभामा बोलेर राजीनामा गर्ने भएका छन् ।

उनले राजीनामा गर्नका लागि नै प्रदेश सभा बैठक बोलाइ दिन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सोडारीको आग्रह अनुसार नै सभामुख भण्डारीले शुक्रबार ४ बजे प्रदेश सभा बैठक बोलाएका छन् ।

यद्यपी प्रदेश सभालाई लेखिएको पत्रमा मुख्यमन्त्री सोडारीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने उल्लेख गरेका छन् । मुख्यमन्त्री निकट स्रोतले प्रदेश सभा मत विभाजन होइन सम्वोधन गरेर पदबाट राजीनामा दिने बताएको छ ।

मुख्यमन्त्रीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइ दिन हुन अनरोध गरेको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताए ।

सङ्घीय सरकारमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले राजीनामा गर्ने भएका हुन ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । तर मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, एकीकृत समाजवादीका चार, र स्वतन्त्रको एक गरेर १५ मत मात्रै पर्ने देखिन्छ ।

उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तीका सात र राप्रपाको एक गरेर ३७ मत छ ।
नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ती र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार अब सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ । कांग्रेसले कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार