बलिया दामोदर, चौथो पटक बने मन्त्री
धनगढी/ एमालेका केन्द्रीय सदस्य तथा बैतडीबाट निर्वाचित प्रतिनीधि सभा सदस्य दामोदर भण्डारी चौथो पटक मन्त्री भएका छन् ।
सुदूरपश्चिमका एमालेका धेरै नेताहरुले पटकपटक एउटैलाई अवसर दिनु हुन्न भन्दै उनलाई मन्त्री हुनबाट रोक्न खोजे पनि महासचिव शंकर पोख्रेलको दवावमा उनी फेरि मन्त्री हुन सफल भएका हुन ।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड सरकारकै पालाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन्
यस्तो छ मन्त्री भण्डारीको राजनीतिक इतिहास : २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका भण्डारी २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा (एमाले) को बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए ।
बैतडीको पाटन नगरपालिका ६ का बुवा उदयसिंह भण्डारी र आमा कमला भण्डारीका छोरा २०३० साल कात्तिक २० गते जन्मिएका थिए ।
भण्डारी २०५४ सालमा एमाले जिल्ला कमिटी उपसचिव भए । २०५६ देखि २०६४ सम्म एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीका अध्यक्ष बने। दशौ महाधिवेशनपछि प्रदेश अध्यक्षसमेत भएका भण्डारी हाल एमालेको केन्द्रिय सदस्यको जिम्मेवारीमा छन्। त्यसअघि २०७५ मा उनी नेकपाको प्रदेश कमिटी सदस्य पनि भएका थिए ।
२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा जितेपछि भण्डारी पछि फर्कनुपरेको छैन। उनले ०७४ र ०७९ मा गरेर लगातार तेस्रोपटक विजयी भएपछि चार महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योग मन्त्रालय पाएका थिए ।
यसअघि पुस १० मा पनि उनी प्रचण्ड सरकारको उद्योगमन्त्री बनेका थिए । त्यस अगाडि २०७३ सालमा अर्थ राज्यमन्त्रीको पद सम्हालिसकेका भण्डारी तेस्रोपटक मन्त्री बनेका हुन्। २०७० को निर्वाचनमा भण्डारी बैतडी–१ बाट ११ हजार ६७२ मत ल्याएर पहिलोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
उतिवेला उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज अवस्थीले १० हजार ३१४ मत पाएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता नरेन्द्र कुँवरसँग झण्डै तेब्बर मतान्तरले पराजित हुँदा भण्डारीको मत ९ हजार ५९ थियो।
२०७० सालमा कमब्याक गरेका उनले २०७४ मा पनि अपराजित यात्रा कायमै राखे। बैतडी एउटै निर्वाचन क्षेत्र बन्दा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई सजिलै हराएका थिए। त्यतिवेला उनले ३९ हजार ५२४ मत ल्याएका थिए।
तेस्रो पटक ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धन (पाँच दल) का तर्फबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले सिंहदरबारको यात्रा तय गरेका हुन्। यो संसदीय निर्वाचनमा १ हजार ५३१ मतान्तरसहित बाजी मारेका भण्डारीले ३३ हजार ६११ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याएका थिए।
विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका दामोदर भण्डारी एमालेमा अडिग रहे। नेता भण्डारी २०७९ सम्म आइपुग्दा सफल राजनीतिज्ञका रूपमा चिनिन्छन्।
पार्टीमा कहिले पनि नडमगाएर अनवरत रूपमा संगठन बनाई पार्टीलाई नयाँ उचाइमा पुर्याउन उनको ठूलो भूमिका रहेको बताइन्छ। तत्कालीन समयमा एमाले पार्टी फुट्दा पनि बैतडी जिल्लामा न्यून प्रभाव पार्न सफल भएका नेता समेत भण्डारी हुन्।
उनले आफूले बितेको दशकमा पाटन विमानस्थल, पाटन–पञ्चेश्वर सडक, महाकाली करिडोर लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइको क्षेत्रमा काम गरेको बताउछन्।