२२ भाद्र २०८१, शनिबार

मन्त्री विक डुबान क्षेत्रमा,समस्याको दीर्घकालिन समाधानको लागि पहल गर्छु



धनगढी/ सुदूरपश्चिम प्रदेशका शिक्षा,युवा तथा खेलकुदमन्त्री लक्ष्मी विक बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा बाढी प्रभावित क्षेत्रको अनुगमन गरेकी छन् ।

सो क्रममा उनले बाढीबाट हुने डुबानको समस्याको दीर्घकालिन समाधानको लागि पहल गर्ने बताएकी छन् । सो क्षेत्रमा पहिलेदेखि नै डुबानको समस्या रहँदै आएको छ । यसमा दीर्घकालिन योजना बनाएर अगाडि बढ्दा समस्या समाधान हुने हो । यसका लागि मैलै प्रदेश सरकारबाट गर्न सक्ने पहल गर्नेछु उनले भनिन् ।

बाढीपीडितलाई क्षतिको आधारमा सहयोग गर्ने पनि उनले बताइन् । उनले भनिन् ‘सरकार यस विषयमा गम्भीर छ । प्रत्येक जिल्लाबाट क्षतिको विवरण मागेका छौँ । कहाँ कति क्षति भएको छ । तथ्यांक आएपछि सरकारले के गर्न सक्छ । सक्दो सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

सो क्षेत्रमा पर्ने केही दिन अगाडिको वर्षाका कारण दोदा नदीको बाढी गाउँमा पसेर सयौँ घरहरु डुवानमा परेका छन् । डुबानमा परेपछि अन्नपात लगायतका सामानहरु भिजेर काम नलाग्ने भएको स्थानीयले बताएका छन् ।

सोही क्रममा मन्त्री विकले केही दिन अगाडि बाढीमा डुबेर मृत्यु भएका सोही वडाको नयाँकटानका सिर्जना बोगटी,लक्ष्मी बोगटी र आरती बोगटीका परिवारसँग भेटघाट गरेकी छन् ।

उनले भेटघाटको क्रममा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् । मन्त्री विकले मृतकका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाख दिने गरेर मन्त्रीपरिषद्बाट नीति गत निर्णय भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार