२२ भाद्र २०८१, शनिबार

ब्लड क्यान्सर पीडितलाई सहयोग संकलन गर्दै नेपाली सेफ सोसाइटीले मनायो वनभोज कार्यक्रम




युरोप/ ब्लड क्यान्सर पीडितलाई उपचारका लागि सहयोग रकम संकलन गर्दै अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले वनभोज कार्यक्रम मनाएको छ । तीन महिनादेखि माल्टाको माटर देइ अस्पतालमा भर्ना भएर क्यान्सर रोगको उपचार गराई रहेका सुरज लौडारीको उपचारका लागि सहयोग रकम संकलन गर्दै सोमबार वनभोज कार्यक्रम मनाएको हो ।

रोजगारीको शिलशिलामा विगत छ वर्षदेखि माल्टामा रहँदै आएका लौडारी अकस्मात बिरामी भएपछि स्वास्थ्य जाँचगर्दा ब्लड क्यान्सर देखिएको थियो । ब्लड क्यान्सर देखिएपछि तीन महिनादेखि माल्टाको सरकारी अस्पतालमै राखेर लौडारीको उपचार भइरहेको छ ।

नेपालको ब्यास नगरपालिका -१ दमौली घर भएका सुरज लौडारीको थप उपचारको लागि युके लिनुपर्ने र उपचारमा धेरै खर्च लाग्ने समाचार बाहिर आएपछि वनभोज कार्यक्रममा सहयोग रकम सकंलन गरिएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए ।

नेपाली खानालाई विश्वमा चिनाउन, नेपाली खानाको प्रवद्धन गर्न र विश्वमा रहेका नेपाली सेफ (भान्सेहरु) एक ठाउँमा संगठित भई नेपाली खानाको माध्यामद्धारा नेपालको पहिचान झल्काउनको लागि स्थापना भएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले संस्थालाई योगदान गर्नेहरुलाई सम्मान गरेको थियो ।

संस्थाको हीतका पक्षमा निरन्तर समाचार लेखेर योगदान गरे वापत वनभोज कार्यक्रममा पत्रकार धनराज अविरललाई सम्मानपत्रले सम्मान गरिएको उपाध्यक्ष बावु अर्यालले बताएका छन् । वनभोज कार्यक्रममा कलाकार पुजा सुनार र सौरभ दंगासे पनि सम्मानित भएका थिए ।

युरोपको समुन्द्रको बीचमा फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डाले दिएको सन्देश

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले नेपाललाई चिनाउने गरी आयोजना गरेको वनभोज कार्यक्रमको सबैले दिल खोलेर प्रशंसा गरेका थिए । भन्दै थिए विदेशको माल्टामा नभएर आफ्नै देश नेपालमा छु जस्तो लाग्यो । देशको राष्ट्रिय झण्डाले प्रवासी नेपाली बीच एकताको सन्देश दिएको थियो ।

माल्टाको मेलिया भन्ने ठाउँमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । जुनठाउँ पर्यटकिय स्थल हो र विभिन्न देशका नागरिकहरु माल्टा घुम्न आउँदा मेलिया पुग्ने गर्दछन् । दिउँसोको २ बजिसकेको थियो अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सबै पदाधिकारी वनभोजको तयारीमा जुटेका देखिन्थे ।

सुमुन्द्रको परिकर्मा गराउनको लागि बोर्ड तयारी अवस्थामा रहेको थियो । बोर्डको अगाडि र पछाडीपट्टी नेपालको राष्ट्रिय झण्डा फरफराइ रहेको थियो । आकर्षक तरिकाले सिंगारीएको बोर्डतर्फ समुन्द्रमा रमाई रहेका सबैको ध्यान राष्ट्रिय झण्डाले केन्द्रित गरेको थियो ।

वनभोजमा सहभागी हुन आउने अतिथिहरुका लागि ठाउँ पत्ता लगाउन असजिलो भएन । किनकी धेरै बोर्ड भएको समुन्द्रमा नेपालको राष्ट्रिय झण्डा टाढैबाट देख्न सकिन्यो र नेपालीहरु सजिलै कसैलाई नसोधी गन्तव्यमा सजिलो आएको देख्न सकिन्यो ।

करिब ४ बजेतिर अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले बुकिङ गरेको बोर्ड संचालन हुन्छ र विस्तारै समुन्द्रको बीचमा जान्छ । समुन्द्रको चिसो हावाले शितलता प्रदान गर्छ । नेपाली गीतमा नाँचेर रमाई रहेका नेपालीहरुलाई देखेर अन्य देशका नागरिकहरु सुमन्द्र भित्रै उर्फीउर्फी हुटिङ गर्छन, कोही वाईवाई गर्छन कोही हातको इशाराले किस गरी रहेका थिए भने कोही दुईहात जोडेर माया दशाई रहको दृश्य निकै रोचक देखिन्थ्यो । सबैको ध्यान समुन्द्रको बीचमा फरफराई रहको नेपाली राष्ट्रिय झण्डाले नै आकर्षित गरेको थियो ।

समुन्द्रकै बीचबाट कोही नेपाल घरमा फोन गरेर समुन्द्र देखाउदै बोर्डमा बसेर वनभोज मनाउन लागेको बताई रहेका थिए । करिब दुई घण्टाको समयपछि मेलियाकै प्रशिद्ध अर्को स्थानमा बोर्ड पुग्छ र समुन्द्रकै बीचमा रोकिन्छ । वनभोजमा सहभागी भएका सबैले अध्यक्ष बासुदेव भुसाल र उपाध्यक्ष बावु अर्यालको कार्यक्षमताको तारिफ गरि रहेका थिए ।

बोर्डमै औपचारिक कार्यक्रम सुरु हुन्छ । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अर्याले राखेका थिए । नेपाली खानालाई विश्वमा चिनाउन स्थापना भएको संस्थाले सामाजिक र मानविय काम पनि गर्ने बताउँदै ब्लड क्यान्सर पीडितको उपचारका लागि आज सहयोग संकलन गरिने बताए । सचिव सुन्दर घिमिरिले हाम्रो सानो सहयोगले कसैलाई मद्दत पुग्छ भने सहयोगका लागि अग्रसर हुनपर्नेमा जोड दिएका थिए ।

तुम क्षेत्री, कविन्द्र चन्द, कृपा सार्की, जीतबहादुर थापा र बिजु क्षेत्रीले वनभोज कार्यक्रम धेरै राम्रो भएको बताए । दान्ची लामा र सोना गुरुङले अहिलेसम्मकै राम्रो वनभोज कार्यक्रम लाग्यो भन्दै आयोजकको व्यवस्थापनको उनीहरुले प्रशंसा गरे ।

वनभोजमा सहभागी भएका माल्टाका आदम चार्लिस सेप्टेरी र सान्द्रा मिफसुफले नेपालीहरुको देशप्रेम र सहयोगी भावना देखेर खुसी लागेका बताए । माल्टाको समुन्द्रमा नेपालको राष्ट्रिय झण्डा सबैले देखे नेपालहरु रहेछन् भनेर धेरैले थाहा पाएको उनीहरुले बताए । वनभोजमा ब्लड क्यान्सर पीडितको उपचारका लागि सहयोग पनि संकलन गरेको देखियो हामीले पनि केही सहयोग गरेकाछौं । नेपाली खाना धेरै स्वादिष्ट लागेको भन्दै मिठो मानेर नेपाली खाना खाएको उनीहरु बताउँछन् ।

औपचारिक कार्यक्रमको समापन पछि वनभोज कार्यक्रमको सुरु भएको थियो । स्वादीलो नेपाली खानाको स्वाद संगै भरपुर मनोरञ्जन हुनेगरी दोहोरी गीत गाउँदै नाँच्दै नेपालीहरु रमाइरहेक थिए । कलाकार पुजा सुनार र सौरभ दंगासले दोहोरी गीत गाएका थिए भने सुशिल थापा मगरले निकै राम्रो नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष भुसाल र उपाध्यक्ष बावु अर्यालले पचास पचास युरो दिएर सहयोग संकलनको सुरुवात गरेपछि वनभोजमा सहभागी सबैले स्वइच्छाले सहयोग रकम दिएका थिए । औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष भुसालले ब्लड क्यान्सर पीडितको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका थिए । रकम बिरामीलाई नै भेटेर प्रदान गरिने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार