२१ असार २०८१, बिहीबार

देशभरका ७५३ पालिकामा स्केटिङ मैदान बनाउनु पर्नेमा मन्त्री जोशीको जोड




काठमाडौ/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ७५३ वटै पालिकामा स्केटिङ तथा स्केटबोर्डिङ मैदान बनाउनु पर्ने बताएका छन् ।

सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप कार्यक्रम २०८१ मा शनिबार बोल्दै उनले त्यसका लागि आफ्नो मन्त्रालयले समेत स्थानीय सरकारकासंग समन्वय गर्ने बताए । यो साहसिक खेल हो यसको विकासका लागि सरकारले सक्ने सहयोग गर्न जरुरी छ उनले भने ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा काठमाडौको टोखामा आयोजना भरहेको सो कार्यक्रममा बोल्दै सर्जक तथा गायक प्रकाश सपुतले कार्यक्रममा आएर, आर्थिक, नैतिक सहयोग गरेर यो खेलको प्रवद्र्धनमा आफू लाग्ने बताए ।

सोही कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आर्थिक अभावका कारण आफ्नो पालिकाका कुनै पनि खेलाडीले खेल खेल्नबाट बञ्चित हुनु नपर्ने बताए ।

सो क्रममा मन्त्री जोशी, कलाकार सपुत र नगरप्रमुख अधिकारी र नेपाल ओलम्पिक कमिटीका महासचिव मिलेन्द्रराज श्रेष्ठ लगायतले खेलाडीहरुलाई स्केटबोर्ड हस्तान्तरण गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका छन् । उनीहरुलाई खुल्ला सिनियर पुरुष , खुल्ला जुनियर पुरुष, खुल्ला महिला सिनियर र खुल्ला जुनियर महिला स्केटिङ च्याम्पियनसिप गरेर चारवटा विद्यामा खेलाइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार