१७ असार २०८१, आईतवार

कैलालीमा पानी पर्यो, गर्मी कम हुने, रोपाइँ गर्न सहज



राजकाँडाबाट देखिएको चिसापानी र कर्णाली ।


धनगढी / कैलालीका बुधबार विहानदेखि पानी पर्न थालेपछि अत्याधिक गर्मी खेप्न बाध्य यहाँका बासिन्दालाई सहज भएको छ भने अब रोपाइँ गर्न समेत सजिलो हुने भएको छ ।

महाकाली बेसिन अत्तरियाका प्रमुख सञ्जयकुमार साहका अनुसार आज ७.१ मिलिमिटर पानी परेको छ । मनसुनी वर्षा शुरु भएको छ अब पानी पर्ने र रोकिने भैरहन्छ उनले बताए ।

उनका अनुसार वर्षाले न्युनतम तापक्रम पनि घटेर २६.६ मा झरेको छ । यो सँगै अघिकतम तापक्रम ३२.५ मा झरेको छ ।
जबकी यसअघि मंगलबार अधिकतम तापक्रम ३८. ८ र न्युनतम आक्रमण २६.६ थियो । न्युनतम तापक्रम विहान ८ ः ४५ र अधिकतम तापक्रम साँझ ५ः ३० मापन गर्ने गरिन्छ ।

कैलालीमा ४४.१ डिग्रीसेल्सियसम्म तापक्रम पुग्ने गरेपछि अत्याधिक गर्मीले यहाँका बासिन्दा आजित भएका थिए । भने अर्कोतिर रोपाइँ पनि शुरु हुन सकेको थिएन । कैलालीमा गत बुधबार हल्का वर्षा भएको थियो, त्यसपछि शनिबार २६. ५ मिलिमिटर पानी परेको थियो । गत बुधबार र शनिबारको पानीले राहत भइरहेका बेला आज फेरि पानी परेपछि यहाँका बासिन्दाले हिँडडुल गर्न र रोपाइँ गर्न सहजता महशुस गर्न थालेका हुन ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषि योग्य जमिन रहेको कैलालीमा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ ।

पानी परेपछिको कैलालीको अत्तरिया बजार । तस्बिर सौजन्य : महाकालीबेसिन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार