१२ असार २०८१, मंगलवार

बाजुराको बुढीगंगामा कृषि मेला



बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाको कृषि शाखाले कृषि मेलाको आयोजना गरेको छ ।

नगरपालिकाभित्रका कृषकहरुद्वारा उत्पादित कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको नगरप्रमुख रामबहादुर बानियाले बताए ।

मेलामा कृषकहरुले उत्पादन गरेका रैथाने बालीहरुमा खाद्यान्न बाली, दलहन, तरकारी, फलफूल, मसला तथा नगदे बालीहरु प्रदर्शनीमा राखिएको छ ।

कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी स्थानीय तहमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको नगर उपप्रमुख माया कुवर खड्काले बताइन् ।

कृषि ज्ञान केन्द्र बाजुराले यस कार्यक्रमले व्यावसायिक कृषकहरुलाई थप प्रोत्साहन मिल्ने विश्वास लिएको छ । कृषि शाखाले आयोजना गरेको प्रदर्शनी कार्यक्रममा लिबर्ड, गिफ्ट नेपाल बाजुरा, डब्लुएपी लगायतको गैरसरकारी संस्थाहरुको सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार