१० श्रावण २०८१, बिहीबार

स्वतन्त्र प्रदेश सभा सदस्य डा. जोशी किन भएनन् मन्त्री



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारमा डडेल्धुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन मानेनन् ।

उनलाई निकटस्थ धेरैले मन्त्री बन्न आग्रह गरे पनि सपथग्रहणमा गएनन् । उनले सपथग्रहण नगरेपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सो मन्त्रालय र आन्तरिक मामिला र कानुन मन्त्रालय आफैसित राखेका छन् ।

मुख्यमन्त्री सोडारीसंग सुमधुर सम्वन्ध रहेका जोशी यसअघि मन्त्री बन्ने सहमत थिए । उनले सोडारी नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका पनि हुन ।

डा. जोशीले मुख्यमन्त्री सोडारीलाई सोमबार दिउँसो भेटेर सरकारमा सहभागी नहुने बताएका थिए ।

अहिलेको अवस्थामा सात मन्त्रालय फुटाएर ११ बनाउने कुरासंग म सहमत छैन त्यसैले सरकारमा जान उचित ठानिन उनले अनुमोदनलाई भनेका छन् ।

मन्त्रालय फुटाएर मन्त्री धेरै बनाएका कारण तपाईको सरकार जोखिममा पर्छ त्यसैले मन्त्रालय नफुटाउनुस, बरु राज्यमन्त्री बनाएर १० सदस्यीय बनाउनु भनेर मुख्यमन्त्रीलाई सुझाव दिए उनले भने, तर उहाँको पनि आफ्नै बाध्यता थियो जस्तो लाग्यो ।

सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तीका शिर्ष नेताहरुको सहमतिमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मुख्यमन्त्री भएका सोडारीले हालका सात मन्त्रालय फुटाएर ११ पुगाउने तयारी गरेका छन् ।

डा. जोशी सरकारमा नजाने भएपछि अब तीन मन्त्रालय मात्र फुटाइने बताइएको छ । यद्यपी मुख्यमन्त्री सोडारीले जोशी सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । भूमी व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमध्येका तीन मन्त्रालय फुटाउने तयारी छ ।

सरकारमा अहिले मुख्यमन्त्री र नागरिक उन्मुक्तीका दुई गरेर तीन जना थिए । साँझ ५ बजे एमाले/माओवादीका तीन/तीन मन्त्री थपिए । थपिनेमा एक जना समाजवादीका पनि छन् । यसअघि नागरिक उन्मुक्ति दुई मन्त्री छन् ।

सरकारमा आज एमालेका सुरेन्द्र पालले आर्थिक मामिला र माओवादीका ओमविक्रम भाट सरल सामाजिक विकास मन्त्रालय पाएका छन् ।

यस्तै गरेर एमालेका वीरबहादुर थापा पाताल, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र समाजवादीका माया पन्त तत्काललाई विनाविभागिय मन्त्री भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार