१० श्रावण २०८१, बिहीबार

थपिए सातमन्त्री १० सदस्यीय बन्यो सुदूरपश्चिम प्रदेश सरकार



धनगढी / सुदूरपश्चिम प्रदेश सरकार अब १० सदस्यीय भएको छ । थप सात मन्त्रीले पद तथा गोपनियता सपथग्रहण गरेपछि प्रदेश सरकार १० सदस्यीय बनेको हो । यसअघि डेढ महिनादेखि मुख्यमन्त्री सहित तीन सदस्यीय सरकार मात्र रहेको थियो ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार प्रदेश सरकार विस्तार गरेको थिए । नवनियुक्त मन्त्रीहरुलाई सोमबार साँझ ५ बजे प्रदेश प्रमुख नजिर मियाले एक समारोहका बीच पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।

सपथग्रहण गर्नेमा नेकपा (एमाले)का सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट सरल सामाजिक विकास मन्त्रालय रहेका छन् ।

यस्तै गरेर एमालेका वीरबहादुर थापा पाताल, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी ) का माया पन्तले तत्काललाई विनाविभागिय मन्त्रीका रुपमा सपथ ग्रहण गरे ।

यसअघि नागरिक उन्मुक्ति पार्टीका क्रमश कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भइसकेका छन् ।

स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन खोजिए पनि उनले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै सपथग्रहण गरेनन् ।

एकीकृत समाजवादीका दलका नेता समेत रहनु भएका मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलका शिर्ष नेताहरुको सहमतिमा भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्राउन खोजेका छन् । सुदूरपश्चिममा विगतमा सात मन्त्री र चार जना राज्यमन्त्रीसम्म बनाउने गरिएको थियो ।

डा. जोशीले सपथग्रहण नगरेपछि उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले नै लिएका छन् ।

मुख्यमन्त्री सोडारीले सपथग्रहण कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिदै अब सरकारलाई काम गर्न सहज हुने बताए । उनले डा. जोशी सरकारमा आउने विश्वास पनि व्यक्त गरे ।

मुख्यमन्त्री सोडारीको सरकार नेपालको संविधान २०७२ को धारा १६८ का उपधारा २ बमोजिम बैशाख ६ गते गठन भएको थियो । सो धारामा दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार