१० श्रावण २०८१, बिहीबार

आफ्ना आधारभूत माग पूरा गर्न मुख्यमन्त्रीलाई बाजुरागडाबासीको माग




धनगढी/ कैलालीको चुरे गाउँपालिका–४ बाजुरागडाका बासिन्दाको आधारभूत आवश्यक्ता पूरा गरिदिन सुदूरपश्चिम प्रदेश सरकारसंग माग गरेका छन् ।

उनीहरुले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई भेटेर सो माग गरेका हुन । उनीहरुको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सोडारीले बाजुरागडाबासीका माग पूरा गर्न आफू कटिबद्ध रहेको बताए ।

सोही क्षेत्र अर्थात कैलाली क्षेत्र नम्बर ४ को (क) बाट विजयी भएका मुख्यमन्त्री सोडारीले बाजुरागडाबासीका समस्या बारे आफू जानकार रहेको पनि बताए ।

मुख्यमन्त्री सोडारीले सो क्षेत्रका बासिन्दाले शुद्ध खानेपानी, सिंचाइ, विजुली, विद्यालय तथा स्वास्थ्य केन्द्र लगायतका आधारभूत आवश्यक्ताबाट बञ्चित हुन नमिल्ने बताए । अबको बजेटमा न्युनतम आवश्यक्ता पूरा गर्ने गरेर बजेट विनियोजन गरिने उनले बताए ।

मुख्यमन्त्रीलाई दिइएको ज्ञापनपत्रमा भनिएको छ हाम्रो प्रमुख पेशा कृषि भएता पनि सिंचाईको सुबिधा नभएका कारणले तीन महिना पनि खान नपुग्ने अवस्था छ त्यसैले सिंचाइको व्यवस्था हुन पनि निक्कै जरुरी छ ।

यस्तै गरेर खुटिया नदीमा पुल समेत नभएकोले वर्षातको समयमा गाउँलेहरु गाउँबाट बाहिर जान समस्या त हुन्छ नै विद्यार्थीसमेत विद्यालय जान कठिन हुने गरेको स्थानीयहरुले गठन गरेको संघर्ष समितिको तर्फबाट संयोजक हेमबहादुर विष्टले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन बाजुरागडाबासीसंगै प्रदेश सभा सदस्यहरु इन्दिरा गिरी, जानकी कुँवर पौडेल र तुलसी देवकोटा पनि मुख्यमन्त्री कार्यालय पुगेकी थिइन ।

संघर्ष समितिले मंगलबार नै एक कार्यक्रम आयोजना गरेर प्रदेश सभाका सदस्यहरुलाई आफ्ना समस्या सुनाएका थिए । उनीहरुले प्रदेश सभा सदस्यहरुलाई पनि आफ्ना समस्या उल्लेख गरेर समाधानका लागि ज्ञापन पत्र बुझाएका थिए ।

सो अवसरमा प्रदेश सभा सदस्यहरु गिरी, पौडेल र देवकोटाले आफूहरुले बाजुरागडाबस्तीको समस्या समाधानका लागि पहल गर्ने बताएकी थिइन।

कार्यक्रममा खाद्य अधिकारका क्षेत्रमा कार्यरत याक नेपालका अध्यक्ष वलबहादुर रोकायाले सो क्षेत्रका बासिन्दाले भोगेको समस्या बारेमा आफूहरुले पनि अध्ययन गरेको र उनीहरुका समस्या गम्भीर रहेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार