२२ भाद्र २०८१, शनिबार

हामीले भने जस्तै नीति तथा कार्यक्रम आयो, बजेट बिचौलिया केन्द्रित नहोस : एमाले नेता रावल




धनगढी/ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रम आफूहरुले भने जस्तै आएको बताएको छ।

एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । नेता रावलले एमालेको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम आएको बताउदै त्यसको कार्यान्वयनमा जोड दिए । नीति तथा कार्यक्रम राम्रो छ अब बजेट जनमुखी आउनुपर्छ उनले भने ।

पूर्व मुख्यमन्त्री समेत रहेका रावलले भने, सरकारले अहिले बजेट बनाउँदा बिचौलियाहरू हाबी हुन थालेका कुरा सुनिन्छ । ती बिचौलिया नियन्त्रण गर्न मुख्यमन्त्री स्वयमले पहल गर्नुपर्छ ।

ठेकेदार स्कुलका मास्टर सापहरू चेक लिएर आउने अवस्था बन्द गर्नुपर्छ उनले भने, सरकारी कर्मचारीको संलग्नतामा बजेटमा कमिसन दिने कुरा मुख्यमन्त्रीको पहलमा बन्द हुनुपर्छ ।

उनले सबैको भावना अनुसारको बजेट तयार गर्नु पर्ने र बजेट कार्यान्वयन विधि, नीति अनुसार हुनु पर्नमा जोड दिए ।

हामीले दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेका थियौँ । सिद्धान्त नीति तथा प्राथमिकताको विषयमा छलफल गरेका थियौँ त्यसैको उपलब्धी हो यो नीति तथा कार्यक्रम उनले भने, तुलनात्मक रुपमा प्रगतिशील नीति तथा कार्यक्रम आएको र यसले जनताको जीवनस्तर सुधार गर्न सहज हुने उनको विश्वास थियो ।

यहाँको जनशक्ति उपयोग गर्नेदेखि जमिन बाझो नराख्नेसम्मको नीतिमा बजेट विनियोजन गर्ने र एक जिल्ला एक पुरातात्विकगन्तव्य बनाउन सरकार गम्भीर बन्नु पर्छ उनले भने, लगानी सम्मेलनलाई अगाडि बढाउने र आत्मनिर्भरता उन्मुख सुदूरपश्चिम सरकार बनाउने उद्देश्यले सरकारले काम गर्नुुपर्छ ।

विगतमा मुख्यमन्त्रीका नाममा रहेको योजनाहरू अहिले सुदूरपश्चिमका विभूतिहरूको नाममा राखिएकोमा पनि उनले खुसी व्यक्त गरे ।

हिजो मुख्यमन्त्री शिक्षा, मुख्यमन्त्री स्वास्थ्य र कृषिमा पनि मुख्यमन्त्री नाम जोडिएको थियो अहिले किसान नेता भीमदत्त पन्त, दशरथ चन्द , द्धारिकादेवी ठकुरानी र पहलमानसिंह स्वाँर लगायतको नाममा कार्यक्रम आएका छन् उनले भने ।


एमालेले मन्त्री कहिले पठाउछ भन्ने विषयमा उनले माधवकुमार नेपाल स्पष्ट नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी नहुने बताए ।

‘माधव नेपाल खुट्टा उचालिरहेका छन् । यता हामी सरकारमा जाने तयारी गरिरहेका हुन्छौ उता माधव नेपाल खुट्टा उचालिरहेका हुन्छन् । जुन दिन सच्चिन्छन्, खुट्टा उचाल्न छाड्छन् त्यो दिन सरकारमा हामी सहभागी हुन्छौँ ।’ उनले भने ।

नेता रावलले भन्नुभयो, ‘माधव नेपाल सच्चिएपछि सरकारमा जान दुई मिनेट लाग्दैन, एक छिनमै मन्त्री बन्छन् ।’ फरक प्रसंगमा उहाँले एमालेमा मन्त्री को हुने भन्ने तछाडमछाड नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार