१० श्रावण २०८१, बिहीबार

कैलालीको पहाडी क्षेत्र खैरालामा स्वास्थ्य चौकी भवन हस्तान्तरण



धनगढी/ कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिका वडानम्बर २ मा फाया नेपाल नामक गैरसरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।

फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।

झण्डै दुई करोड अर्थात् एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य चौकी भवन हस्तान्तरण गरे लगत्तै सोमबार नै विधिवत रूपले उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बोगटीले उद्घाटन गर्दै स्वास्थ चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए ।

उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।

फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले तीन वर्ष अघि स्थलगत अनुगमनका क्रममा स्वास्थ चौकीले जीर्ण भइसकेको भवनमा महिला तथा बालबालिकाको उपचार गर्नुपर्ने अवस्था रहेको जानकारीमा आएको बताए ।

२०८० फाल्गुन १७ गते निर्माण कार्य पूरा भएको नवनिर्मित भवन बनाउन एक करोड ९९ लाख ३५ हजार ९६३ रुपियाँको खर्च भएको फाया नेपालका कार्यक्रम प्रवन्धक लालबहादुर महराले बताए ।

कार्यक्रम वडानम्बर २ का अध्यक्ष केशव साउदको अध्यक्षतामा भएको थियो । सो अवसरमा फायाका अध्यक्ष लोकराज भट्ट, फायाका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेत, पूर्व अध्यक्ष धनपति ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार