१७ बैशाख २०८१, सोमबार

गण्डकी प्रदेश प्रमुख भट्टलाई गृहनगर डोटीकामा भव्य नागरिक अभिनन्दन



धनगढी / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।

प्रदेश प्रमुख नियुक्तिपछि पहिलोपटक गृहनगर पुगेका भट्टलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँपालिकाबासीको तर्फबाट दोसल्ला, खादा तथा अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दन गरे ।

नागरिक अभिनन्दनअघि स्थानीयबासीले प्रदेश प्रमुख भट्टलाई विभिन्न झाँकी तथा खादा माला सहित रावतकट्टेमा स्वागत गरेका थिए ।

स्थानीय जोरायल गाउँपालिका वडा नम्बर ३ रावतकट्टेस्थित रत्न आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरिएको समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले जोरायल गाउँपालिकाबासीले आफूलाई प्रदान गरेको यति धेरै माया र सम्मानको लागि आभार प्रकट गरे ।

आफूले जीवनको महत्वपूर्ण समय जोरायलवासी दाजुभाई तथा दिदी बहिनीहरुसँगै बिताएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले जोरायलबासीको साथ र सहयोगले नै आफू राज्यको महत्वपूर्ण पदमा पुग्न सफल भएको बताए ।

आफू जिम्मेवारीको हैसियतले गण्डकी प्रदेशको प्रमुख भए पनि जोरायलको विकास र समृद्धिमा आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रदेश प्रमुख भट्टले जोरायल गाउँपालिकाबासीको अभिभावक रहेको बताउँदै गाउँबासीको तर्फबाट सम्मान तथा अभिनन्दन गर्न पाउदा खुशी लागेको उहाँले बताए ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जीवनको महत्वपूर्ण समय राजनीति तथा समाजसेवामा बिताउनुभएका भट्टलाई ढिलै भएपनि राज्यले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।

जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले जीवनमा सधैं त्याग र निष्ठाको राजनीति गरेका भट्टलाई राज्यले गरेको सम्मानले जोरायल गाउँपालिकाबासीलाई हर्षित बनाएको बताइन ।

कार्यक्रममा संविधानसभा सदस्य कृपासिंह राना लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार