१७ बैशाख २०८१, सोमबार

उन्मुक्ती विवाद कायमै, सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ती कहिले ?



धनगढी / नागरिक उन्मुक्ती पार्टी (नाउपा) को आन्तरिक विवादले गर्दा सुदूरपश्चिममा दावेदारी प्रस्तुत भएको दुई दिनसम्म पनि प्रदेश प्रमुख नाजिर मियाले मुख्यमन्त्रीको नियुक्ती गर्न सकेका छैनन् ।

नाउपाका दुई जनाले मुख्यमन्त्रीमा दावेदारी गरेपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्न सकक भएको हो । संसदीय दलका सदस्यहरु दुई धारमा विभाजित भएर सोही दलका दुई जनाले आइतबार प्रदेश प्रमुख मियासमक्ष आइतबार मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका थिए ।

नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले बहुमत सदस्य सातमध्ये पाँच जना प्रदेश सभा सदस्यको समर्थनमा लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अघि बढाएका छन् ।

लक्ष्मणकिशोरलाई नेपाली कांग्रेसका १८, नाउपाका पाँच, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपाका एक जना गरेर २८ जनाको समर्थन छ । यद्यपी लक्ष्मणकिशोर पक्षले प्रदेश प्रमुखलाई उन्मुक्तीका सातै जना आफ्नो पक्षमा रहेको दावी गरेर दावेदारी प्रस्तुत गरेको छ । सातै जनालाई जोड्दा लक्ष्मणकिशोरको पक्षमा प्रदेश सभा सदस्यको संख्या ३० पुग्छ । ५३ जनाको सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेश सभामा हाल ५२ जना कायम रहेका छन् ।

यस्तै गरेर नाउपाका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले तोकेका दलका नेता कैलाश चौधरीलाई नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० र स्वतन्त्र एक जनाको समर्थन छ । कैलाशले पनि आफ्नो पक्षमा नाउपाका छ जना आफ्नो पक्षमा रहेको दावी गरेका छन् । उनले गरेको दावी अनुसार सरकार बनाउन आवश्यक पर्ने २७ जना पुग्छ । तर कैलाशको पक्षमा उन्मुक्तीका उनीसहित दुई जना मात्र मुख्यमन्त्रीको दावेदारीका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

कैलाशले उन्मुक्तीकै समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई प्रदेश सभा सदस्यबाट हटाइएको भन्दै आफ्नो पक्षमा जोडेका थिएनन् । तर सर्वोच्च अदालतले इन्दिराका पक्षमा अन्तरिम आदेश गरेको छ । अन्तरिम आदेशपछि उनी फेरि प्रदेश सभा सदस्यमा बहाल भएका छन् ।

नागरिक उन्मुक्ती केन्द्रीय अध्यक्ष श्रेष्ठले पत्रचारपछि सुदूरपश्चिम प्रदेश सभाले उनलाई पदबाट हटाएको थियो । अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता घनश्यामलाई पनि तीन महिनाका लागि निलम्बन गरेर कैलाशलाई दलको नेता बनाएको पत्र प्रदेश सभामा पठाएकी थिइन । तर प्रदेश सभाले सो पत्रमा कुनै कारबाही गरेको छैन ।

नाउपाका अध्यक्ष श्रेष्ठले आइतबारै प्रदेश प्रमुख मियालाई भेटेर आफ्नो पार्टी कैलाशको पक्षमा रहेकोले उनलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेकी थिइन । भने प्रदेश संसदीय दलमा रहेका पाँच जनाले आफूहरु लक्ष्मणकिशोरको पक्षमा रहेको र संसदमा पार्टी होइन संसदीय दलको बहुमतको अर्थ हुने धारणा प्रदेश प्रमुख मियासमक्ष राखेका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम गिरीले आफूहरुले बहुमत सदस्य सहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउनका लागि पहिले दावेदारी प्रस्तुत गरेको बताउदै प्रदेश प्रमुखले रोकेर राख्नु अभिभावकिय भूमिका निर्वाह नगरेको बताए ।

उनले भने, हामीले आवश्यक संख्या सहित दावेदारी पहिले प्रस्तुत गरिसकेपछि अर्को पक्षको दावेदारी स्वीकार गर्नु पनि गल्ती भएको बताए । हामी अझै प्रदेश प्रमुखको सन्तुलित भूमिकाको अपेक्षा गरिरहेका छौ त्यसो भएन भने अगाडि ( अदालत जाने संकेत) पनि जान सक्छौ उनले बताए ।

कैलाशको पक्षमा उभिएको नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दावेदारी प्रस्तुत गरेको अवस्थामा प्रदेश प्रमुखले राय, परामर्श लिएर केही दिन ढिला मुख्यमन्त्री नियुक्त गर्न सक्ने धारणा राखे ।

सुदूरपश्चिम प्रदेश सरकार पूर्व न्यायधिवक्ता कुलानन्द उपाध्यायले नाउपाका कैलाशले सो दलका दुई जना आफूसित हुँदा पनि छ जना छन भनेर मुख्यमन्त्रीमा दावेदारी गरेको र अर्कोतिर नाउपाकै लक्ष्मणकिशोरले आफूसित सो दलका पाँच जना मात्रै हुँदा पनि सात जना छन भनेर अन्योल सृजना गरेकोले प्रदेश प्रमुखले दुईवटै पक्षमा उभिएका नाउपा सहितका सबै दलका प्रदेश सभा सदस्यलाई उपस्थित गराएर सनाखत गरेर नयाँ मुख्यमन्त्री नियुक्ती गर्नु पर्ने सुझाव दिए ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्न नसकेर चैत २२ गते राजीनामा दिनु भएपछि प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्न चैत २३ गते १० दिने समयसीमा दिएका थिए । सो समयसीमा सकिन लाग्दा आइतबार नाउपाका दुई जनाले मुख्यमन्त्रीमा दावेदारी प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले प्रदेश प्रमुख अहिले परामर्शमै रहेको र परामर्श सकिएपछि मुख्यमन्त्री नियुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार